- विनोद दाहाल
माओवादी आन्दोलनको सचेतनापूर्ण धक्काले आफ्नो पङ्क्तिमा क्रमभङ् गरायो र देशी विदेशी प्रतिक्रियावादी पङ्क्तिमा पनि क्रमभङ् गरायो । यसका लागि माओवादीले ०३१ सालको चौथो अधिवेशनदेखि प्रयत्न गरेको थियो । किसान र मजदुरले जनक्रान्ति गर्ने विश्वव्यापी परम्परा भैराखेको सन्दर्भमा सँधै नै विश्वव्यापी वहस भैराखेको छ । यहाँ हाम्रो समाज विकासको विशिष्ट अवस्थाको विश्लेषणसहित पार्टीले मौलिक खालको जनक्रान्तिको कार्यक्रम अघिसारेको थियो ।
श्रमजिवी गरिब समुदाय जातीय क्षेत्रीय लैंगिक र साँस्कृतिक दलित शोषण उत्पिडन भेदभाव र अत्याचार भोगिराखेका समुदायलाई सङ्गठित गरि माओवादीले जनयुद्धमार्फत नेतृत्व दिएको थियो । यसको लागि घरेलु हतियारबाट शुरु गर्ने र जनसमुदायसँग रहेका हातहतियारहरूको सहयोग लिएर प्रतिक्रियावादी राज्यका रक्षकहरूबाट हतियार, सम्पत्ति, श्रोत साधन नियन्त्रण र भण्डारण गर्दै जनक्रान्ति सशक्त बनाउदै लैजाने नीति लागुगरेको थियो ।
माओवादीको भारतमा रहेको एकता समाजलाई यो काममा सशक्त भूमिकाका लागि क्रियाशील बनाउने नीति पनि लिएको थियो । यही एकता समाजलाई अहिले रअ को अर्थमा प्रतिक्रियावादीले दुस्प्रचार गर्नेगरेका छन । रअ ले सहयोग पुर्याएको अर्थ लगाइरहेका छन जुन अज्ञानता सिवाय केही हैन ।
१० वर्षसम्म चलेको जनसङ्घर्ष अर्थात महान जनयुद्धले आकाशमा जुनतार रहुञ्जेल नेपाल अधिराज्यमा राजारानी रहिराख्नेछन भनेर पढ्न लगाइन्थ्यो, त्यसलाई हटाईदियो । यो घाम जत्तिकै छर्लङ्ग छ ।
अहिले क्रान्तिकारी पार्टी नेकपा माओवादी लगायत ३३ दलीय मोर्चालाई पन्छाएर अन्य जनसमुदायका प्रतिनिधिहरू समेत भएर संविधान बनाइसकिएको अवस्थामा अब ती जनसमुदाय फेरि पनि जीवनमरणको सशस्त्र सङ्घर्षमा उत्रिने अवस्था हुँदैन । सर्वहारा वर्गले राज्यसत्तामा अधिनायकत्व कायम नगरिसकेको तथा त्यसका लागि नेतृत्वले तत्परता नदेखाइरहेको अवस्थामा अवको सशस्त्र जनक्रान्ति कसरी गर्ने, कस्ले गर्ने भन्ने निश्कर्षमा पुग्न व्यापक वहसको जरुरि छ ।
सर्वहारा श्रमजिवी जनसमुदायको राज्य कसरी निर्माण गर्नसकिन्छ ? साङ्गठिनिक आधार मजबुत बनेको अवस्थामा पनि कमरेड किरणको नेतृत्वमा १ बर्षको तयारिमा सशस्त्र भैसक्ने भन्ने निर्णय पनि लागू भएन । त्यसपछिका धेरै बर्षहरू बित्दा पनि उक्त नेतृत्वले यसका लागि सचेत पहल लिन सकेन । यसमा कारण खोज्दैजाँदा कार्यदिशाको अभाव रहेको प्रष्ट भएको छ ।
त्यसपछि मध्यम वर्गको जनक्रान्तिमा भूमिका बढेको र त्यही आधारमा एकीकृत जनक्रन्ति गर्ने नीति लिएको विप्लव नेतृत्त्वको दलसमेत प्रचण्डको महापतनमा भासिने स्थितिले जनक्रान्तिको मोडेलको महा वहस झन आवश्यक बनिरहेको छ ।
गोपाल किरातीको जनबिद्रोह, आहुतीको नेतृत्वले प्रबिधिप्रधान जनक्रान्तिले पनि आफ्नो कार्यदिशालाई मूर्तरुप दिन नसकेको देखिन्छ । अब दलाल पुँजीवादी शासनव्यवस्थाबाट सबभन्दा प्रताडना भोगिरहेका शोषित उत्पिडित वर्ग र समुदायलाई सङ्गठित गर्ने र बिद्रोहमा उतार्ने कार्यदिशाको विकास अहिलेको आवश्यकता हो ।