काठमाडौं । प्रभु ग्रुप्सको लगानीमा स्थापना भएको प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले आफ्नो आठौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनी सचिव अल्बिज्ञा खड्काले साधारणसभाबाट विभिन्न प्रस्तावहरू पारित भएको जानकारी दिइन् ।
कम्पनीमा प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्स लिमिटेड, हाइड्रो होल्डिङ्सलगायत विभिन्न संस्थागत लगानीकर्ताहरुको मुख्य लगानी रहेको छ । साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब कम्पनीले शेयर निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिने भएको छ । यस कम्पनीको लगानीमा धेरै जलविद्युत आयोजनाहरू निर्माणाधीन रहेका रहेका छन् ।
यस प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेड समेतको लगानीमा ४६ दशमलव २५ मेगावाट (मेवा)को माथिल्लो म्याग्दी जलविद्युत् आयोजना र २५ दशमलव ४ मेवाको सुपर आँखुखोला जलविद्युत् आयोजना गरि दुई ओटा जलविद्युत् आयोजना तीव्र गतिमा निर्माण भइरहेका छन् ।
त्यस्तै यस कम्पनीले सोलुखुम्बुमा ४ दशमलव २ मेवाको दोभान खोला जलविद्युत् परियोजना र सिन्धुपाल्चोकमा ६ दशमलव ६५ मेवाको मध्यइन्द्रावती खोला जलविद्युत् परियोजना निर्माण गर्ने भएको छ । यस कम्पनीको मुख्य लगानीमा स्थापित प्रभु जलविद्युत् विकास लिमिटेडले विभिन्न जिल्लामा ३ ओटा जलविद्युत् आयोजनाहरू- ९ दशमलव ६२ मेवाको राहगाढ जलविद्युत् परियोजना, ९ दशमलव ३२५ मेवाको इन्द्रावती खोला जलविद्युत् परियोजना र ४ दशमलव १२५ मेवाको लिदिन खोला जलविद्युत् परियोजना निर्माण गर्ने लक्ष्य लिएको छ ।
प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडको लगानी रहेको सिद्धार्थ केवलकार विसं २०८१ भदौ १९ देखि बुटवलमा सञ्चालनमा आइसकेको छ । यस कम्पनीले ४६ दशमलव २५ मेवाको माथिल्लो म्याग्दी जलविद्युत् आयोजनामा मा ४० प्रतिशत शेयर लगानी गरेको छ । उक्त आयोजना ३५ प्रतिशत निर्माण भइसकेको छ ।
कम्पनीको आईपीओ विक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त भइसकेको छ भने केयर रेटिङ्स नेपाल लिमिटेडसँग आईपीओ निष्कासन प्रयोजनका लागि क्रेडिट रेटिङ सम्झौता पनि गरिसकेको छ । साधारणसभाले आईपीओ जारी गर्ने प्रस्ताव स्वीकृत गरेसँगै अब कम्पनीलाई धितोपत्र बोर्डमा सार्वजनिक शेयर निष्कासन (आईपीओ) का लागि आवेदन दिन बाटो खुलेको हो ।
यस कम्पनीले अन्तरराष्ट्रिय स्टान्डर्डको आईएसओ ९००१:२०१५ को प्रमाणपत्र समेत पाइसकेको छ । यो कम्पनी ऋणमुक्त रहनुका साथै निरन्तर मुनाफामा सञ्चालित रहेको छ । कम्पनीको शनिवार सम्पन्न साधारणसभाले सभामा प्रस्तुत सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत पारित भएको कम्पनीले जनाएको छ ।
सार्वजनिक शेयर निष्कासन (आईपीओ)बाट संकलन हुने रकमले सहायक कम्पनीहरूका जलविद्युत् आयोजनामा लगानी गर्ने र निर्माणाधीन परियोजनाहरू सम्पन्न गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।















