- भोजराज घिमिरे
संसदीय व्यवस्था भनेको एउटा सुँगुरको खोर हो, यदि क्रान्तिकारीहरु त्यहाँ जान्छन भने उनीहरू त्यो खोर सफा गर्नका लागि जानुपर्छ, आफै सुँगुर बन्नका लागि होइन।
माओत्सेतुङको यो चर्चित भनाइले उनी संसदीय लोकतन्त्रलाई वुर्जुवा वर्गको स्वार्थ रक्षा गर्ने थलो मान्थे । संसदीय व्यवस्थाको लोभ पद र पैसाको मोहमा फसेर क्रान्तिकारी आदर्श नभुल्नु हो।
विशेषगरी २०४८ सालपछि र २०६३ मा शान्ति प्रक्रियामा आएपछि विभिन्न कम्युनिस्ट पार्टीहरुले संसदमा आफ्नो सहभागीतालाइ पुष्टि गर्न यो भनाइलाई मनन गर्नु जरुरी छ।
विश्व मानचित्रबाट सोभियत सत्ताको अवसान र वर्लिन पर्खालको पतनले साम्यवादको अन्त्य घोषणा गरिरहँदा नेपालका पहाड र वस्तिहरुमा भने एउटा रातो लालटिन बलिरहेको थियो ।
विश्वभर रक्षात्मक बनेको कम्युनिस्ट आन्दोलनलाई नेपाली जनताले आफ्नो रगत र पसिनाले सिँचेर विश्वकै लागि एउटा आशलाग्दो मोडल बनाए । तर आज उही उर्जावान आन्दोलन आफ्नै नेताहरुको नैतिक पतन भ्रष्टाचारको आहाल र सत्तालिप्साका कारण आइसीयुमा छट्पटाइरहेको छ।
हिजो सामन्तवाद मुर्दावाद भन्दै मुट्ठी कस्ने नेताहरू आज दलाल पुँजीवादका नयाँ म्यानेजर बनेका छन । हिजो गरिव सर्वहारा जनताको मुक्तिको लागि ज्यान दिन कसम खानेहरु आज बिचौलियाको भरिया बनेर नितिगत भ्रष्टाचारको सपना देख्दै छन।
सत्ताको छिँडीमा पुगेपछि उनीहरुलाई न जनजिवीकाको चिन्ता छ न मुलुकको । नेपाली कम्युनिस्ट आन्दोलन धराशायी हुनुको मुख्य कारण विचारको खडेरी होइन, पात्रहरुको सामन्ति चरित्र हो । यतिबेला पार्टीका मुख्यालय विचारमन्थन गर्ने थलो होइन ठेक्कापट्टाको डिल गर्ने एउटा कर्पाेरेट कार्यलय जस्ता भएका छन । नेताजती महलमा बस्छन्छो राछोरीलाई सात समुन्द्रपारी पढाउन पठाउँछन् र आफू उपचारका लागि बिदेश धाउँछन । उपचारको पैसा जनताले तिरेको करबाट तिर्नुपर्छ । तर त्यो गरिब आफै चै सरकारी अस्पतालमा सिटामोल नपाएर छट्पटाईरहेको हुन्छ । के गरिब सर्वहारा वर्गले खोजेको येस्तै कम्युनिस्ट आदर्श थियो ? भ्रष्टाचारको संरक्षक बनेर क्रान्तिकारी गफ हाक्ने छुट अब कसैलाई छैन।
नेपालको कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्नुको अर्को डरलाग्दो पक्ष पार्टीभित्र लोभीपापी कार्यकर्ताको दास मानसिकता नै एउटा कारक पनि हो । नेताले जतिसुकै अपराध र भ्रष्टाचार गरेपनि हाम्रै नेता हुन, मेरो अन्नदाता हुन भन्दै १०० किलोको माला लगाइ दिने र जीउ हजुरी गर्ने कार्यकर्ताको कारण नै नेतृत्व झन बे लगाम बनेको हा ।
विचार मरेका र चाकरीमा रमाउने कम्युनिस्ट नेता तथा कार्यकर्ता कदापि कम्युनिस्ट माक्र्सवादी हुन सक्दैन । उनीहरू केवल नेतालाई देवत्वकरण गर्ने एउटा धार्मिक साम्प्रदायिकमा परिणत गरिएका भक्तजनहरुको भजन मण्डली हुन । उनिहरु नेतालाई भ्रष्टाचार र कुशासनको विरुद्ध प्रश्न गर्नुपनि पाप ठान्दछन् ।
तर अब प्रश्न सोध्नै पर्छ । के हामी यीनै भ्रष्ट र अक्षम पात्रलाई पुनः नेता मानेर उसैको झोला बोक्न अभिशप्त छौ? के क्रान्तिको नाममा यिनीहरूको बिलासी जीवनको भारी गरिब सर्वहारा वर्गले सधै बोकी दिनुपर्ने ? अवस्था गम्भीर छ ।
अब नाम मात्रको कम्युनिस्ट भएर पुग्दैन । विगत २० बर्षदेखि नेपाली नागरिकले राम्रोसँग देख्दै भोग्दै आशावादी हुँदै आए । तर निराशा बाहेक नागरिकले केही पाएनन्। पाए त महगो पासपोर्ट र अरबको ५५ डिग्रीको तापक्रम ।
नेपालको कम्युनिस्ट आन्दोलन बचाउँने हो भने सबैभन्दा पहिला दलभित्रका भ्रष्टाचार गरि अकुत सम्पत्ति आर्जन गरेर गन्हाएका नेतालाई राजनीतिबाट डम्पिङ साइडमा लगेर फाल्नुपर्छ ता कि पुनः उठेर नेपालको कम्युनिस्ट राजनीतिमा फर्केर आउन नसकोस ।
मुख्य नेताको चाकरीवाज गर्ने श्रमजीवी सर्वहारा वर्गको दैनिक जनजिवीकाप्रति बेवास्ता गर्ने भ्रष्ट र सांस्कृतिक विचलनमा परेका अनैतिक पात्रलाई पनि यिनीहरू जनविरोधी हुन भन्दै सार्वजनिक रुपमा बहिष्कार र निर्वाचनमा पराजित गराउँन कार्यकर्ता र मतदाताले अब आँट गर्नुपर्छ ।
पार्टीभित्र विरासतको खेती गर्नेलाई पनि विदाइ गरेर श्रम र पसिना बगाउने श्रमजीवी सर्वहारा भुइँमान्छेको भाषा बुझ्ने नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ । सत्तालाई कमाउने धन्दा बनाउने प्रवृत्तिको अन्त्य नभएसम्म कम्युनिस्ट आन्दोलन एउटा भ्रम मात्र रहिरहने छ । हसियाँ हतौडा अंकित पार्टीको रातो झन्डा रातो हुँदैमा कोही कम्युनिस्ट माक्र्सवादी हुँदैन ।
त्यहाँ उसको त्याग समर्पण र आचरण रातो हुँनुपर्छ । आज नेपाली कम्युनिस्ट आन्दोलनलाई बाहिरका वर्गसत्रुले मात्र होइन दलभित्रैका चाकरीवाजहरुले आन्दोलन सिध्याउदै छन । त्यसैले यी गन्हाएका भ्रष्ट सांस्कृतिक विचलनमा परेका पात्रलाई जीउ हजुरी गरेर बस्नु भनेको नेपालको कम्युनिस्ट आन्दोलन मर्याे भन्दै मलामी जानू सरह हो ।
यदि हामी साँच्चै परिवर्तन चाहन्छौं भने यी स्वघोषित मसिहाहरुको भ्रमबाट मुक्त भएर एउटा नयाँ वैचारिक विद्रोहको आँधीबेहरी ल्याउनुको विकल्प छैन । मलाई गुटमा परिएन भन्दै क्वाँ क्वाँ गरेर रुनु र उसैको दास बनेर आज्ञा पालना गर्नु क्रान्ति हुँदै होइन । यो क्रान्तिप्रतिको धोका हो, आत्मसमर्पण हो ।















