पुस ८, काठमाडाैं । सिन्धुलीमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ ।
कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको घटनास्थलमै मृत्यु भएको हो ।
आगलागीमा परी दुर्गामानको दाहिने हात, दाहिने खुट्टा र ढाडमा जलेको छ । उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा घटनास्थलबाट पेट्रोल भरिएका दुई बोतल, जलेको अवस्थामा रहेको पेट्रोलको बोतल, लाइटर तथा बाँसको भाटामा सल बेरी बनाइएको राँको समेत फेला परेको सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताए । मृतकको शव पोस्टमार्टमका लागि सिन्धुली अस्पतालमा छ।
घटनास्थल शंकास्पद देखिएपछि प्रहरीले मृतककी ५० वर्षीया सासू मायारानी बम्जन र ३५ वर्षीया नन्द मीना लामा (बम्जन) लाई पक्राउ गरेको छ । प्रारम्भिक सोधपुछ क्रममा मीना लामा (बम्जन) ले सुशीला बम्जनलाई पेट्रोल छर्की आगो लगाएको स्वीकार गरेको प्रहरीको दाबी छ ।
यता, मृतकका बुबा प्रेमबहादुर घिसिङ (हरिहरपुरगढी गाउँपालिका–४) ले मायारानी बम्जन र मीना लामा (बम्जन) विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन् । जाहेरीका आधारमा सोही दिन ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ।














