भाद्र २७, काठमाडौंको भृकुटीमण्डपमा आयोजित नाईमा अटो एक्स्पोमा हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल उत्पादक कम्पनी डोङफेङ (DONGFENG) का नयाँ बसहरू सार्वजनिक गरेको छ।
कम्पनीले एक्स्पोमार्फत ७.२ मिटर लम्बाइ भएका दुई नयाँ मोडलहरू—२५+१ सिट क्षमताको कम्फर्ट बस र २७+१ सिट क्षमताको सिटी बस बजारमा ल्याएको हो। यी बसहरूको सुरुवाती मूल्य रु. १ करोड १४ लाख ५० हजार (१,१४,५०,०००) तोकिएको छ। एक्स्पो अवधिमा बुकिङ गर्ने पहिलो ५० जना ग्राहकलाई कम्पनीले रु. ५ लाख विशेष नगद छुट उपलब्ध गराउने जनाएको छ।
बसका मुख्य विशेषता तथा ग्राहक सुविधाहरू:
- वारेन्टी सुविधा: ५ वर्ष वा २,००,००० किलोमिटरसम्मको स्ट्यान्डर्ड वारेन्टी; साथै ग्राहकले चाहेमा थप ३ वर्षको ‘एक्सटेन्डेड वारेन्टी’ खरिद गर्न सक्ने।
- एयरकन्डिसन (AC) र सिट विकल्प: हाल सार्वजनिक बसहरू नन-एसी संस्करणमा भए पनि ग्राहकको मागअनुसार अतिरिक्त शुल्कमा एसी र लक्जरी सिट जडान गर्न सकिने।
- प्रवेशद्वार छनोट: ग्राहकको आवश्यकता अनुसार १ वा २ वटा ढोका (प्रवेशद्वार) को विकल्प निःशुल्क छनोट गर्न सकिने (२ वटा ढोका राख्दा २ वटा सिट संख्या घट्ने)।
नेपाल सरकारले ठूला विद्युतीय तथा आधुनिक सवारीसाधनलाई प्राथमिकतामा राखेको र बजारमा यस प्रकारका बसको माग बढेकाले नयाँ मोडलहरू भित्र्याइएको कम्पनीले जनाएको छ।
आयाम इन्टरकन्टिनेन्टलले निकट भविष्यमै ७.२ मिटरको स्कुल बससहित ९ मिटरको (३८ सिट) तथा १२ मिटरको (५२ सिट) क्षमता भएका ठूला बसहरू समेत नेपाली बजारमा भित्र्याउने योजना बनाएको छ। ती बसहरू बजारमा उपलब्ध अन्य प्रतिस्पर्धी ब्रान्डभन्दा निकै प्रतिस्पर्धी मूल्यमा ल्याइने कम्पनीले जानकारी दिएको छ। यी बसहरूको बिक्रीपछिको सेवा तथा स्पेयर पार्ट्स हिमालयन अर्गनाइजेसनका देशभर रहेका आधिकारिक शाखा तथा डिलर सञ्जालमार्फत उपलब्ध हुनेछन्।















