कार्तिक २५। काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज भाइटीका पर्व मनाइँदै छ। यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा र आस्थाका साथ टीका लगाई भाइटीका मनाउने परम्परा छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार आज बिहान ११ बजेर ७ मिनेटमा भाइटीका लगाउन उत्तम साइत रहेको छ। यद्यपि, आज दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ।
काग, कुकुर, गाई र गोरु तिहारपछि भाइटीका मनाउने गरिन्छ। यस पर्वमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुस्वास्थ्य र सुखसमृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा माला लगाइदिने परम्परा छ।














