काठमाडौं — नेपाली टेबलटेनिसका अनुभवी अन्तर्राष्ट्रिय अम्पायर तथा प्राविधिक अधिकारी तेजेन्द्र सिंह महरा जापानको आइची–नागोयामा आयोजना हुने ५औँ एसियाली पारा गेम्स २०२६ का लागि टेबलटेनिसतर्फ ‘International Technical Official’ (ITO) का रूपमा नियुक्त भएका छन्।
एसियाली टेबलटेनिस संघ (ATTU) तथा सम्बन्धित अन्तर्राष्ट्रिय निकायको समन्वयमा महरालाई उक्त प्रतिष्ठित प्रतियोगिताको जिम्मेवारी प्रदान गरिएको हो। एसियाली पारा गेम्स जस्तो महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै प्राविधिक अधिकारीका रूपमा जिम्मेवारी पाउनु नेपाली टेबलटेनिसका लागि ठूलो गौरवको विषय मानिएको छ।
विगत दुई दशकभन्दा लामो समयदेखि टेबलटेनिस खेलको निर्णायक, प्रतियोगिता व्यवस्थापन तथा विकासका क्षेत्रमा सक्रिय महरा International Table Tennis Federation (ITTF) का मान्यताप्राप्त अन्तर्राष्ट्रिय अम्पायर हुन्। साथै उनी ATTU सँग Competition Manager का रूपमा समेत सम्बद्ध छन्। उनले यसअघि पनि विभिन्न राष्ट्रिय, क्षेत्रीय, एसियाली तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्राविधिक समन्वय तथा व्यवस्थापनको अनुभव हासिल गरिसकेका छन्।
आफ्नो नियुक्तिबारे प्रतिक्रिया दिँदै महराले एसियाली पारा गेम्स जस्तो प्रतिष्ठित मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण अवसर भएको बताएका छन्। यस अवसरलाई उनले नेपाली टेबलटेनिसको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने माध्यमका रूपमा लिएका छन्।
प्रतियोगिताका लागि आवश्यक प्राविधिक तयारी तथा समन्वय पूरा गरी महरा आगामी १२ अक्टोबर २०२६ मा जापान प्रस्थान गर्ने कार्यक्रम रहेको छ। जापानमा उनले एसियाका विभिन्न राष्ट्रबाट सहभागी हुने खेलाडी, प्रशिक्षक तथा प्राविधिक टोलीसँग समन्वय गर्दै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रतियोगिता सञ्चालन गर्नेछन्। महराको यो उपलब्धिले नेपालका अन्य प्राविधिक अधिकारीहरूलाई समेत अन्तर्राष्ट्रिय मञ्चमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास लिइएको छ।














