काठमाडौं– विश्वभर बढ्दो औषधिको दुरुपयोग र एन्टिबायोटिक प्रतिरोध (एन्टिबायोटिक रेसिस्टेन्स) जस्ता गम्भीर स्वास्थ्य चुनौतीको समाधान खोज्न इन्टरनेशनल सोसाइटी टु इम्प्रुभ द युज अफ मेडिसिन (आईएसआईयुएम) को आयोजनामा भोलिदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु हुँदैछ।
‘मेडिसिन इन डिजिटल वर्ल्ड’ (डिजिटल युगमा औषधि) भन्ने मूल नाराका साथ लाजिम्पाटस्थित होटल र्याडिसनमा सुरु हुने यो सम्मेलन तीन दिनसम्म चल्नेछ।
सम्मेलनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं सम्मेलनको नेपाल आयोजक कमिटीका अध्यक्ष डा. कादीर आलमले कार्यक्रममा नेपालसहित २५ देशका करिब १५० जना प्रतिनिधि सहभागी हुने जानकारी दिए। सहभागीहरूमा अनुसन्धानकर्ता, प्राध्यापक, चिकित्सक, फार्मासिस्ट, नर्स लगायत स्वास्थ्य क्षेत्रका विज्ञ तथा विद्यार्थीहरू रहनेछन्।
डिजिटल प्रविधि, शिक्षा तथा सचेतना र अनुसन्धानलाई मुख्य आधार बनाएर सञ्चालन हुने सम्मेलनमा ६२ वटा पोस्टर प्रस्तुति, २५ वटा ओरल (मौखिक) कार्यपत्र, २ वटा प्लेनरी सेसन तथा विभिन्न कार्यशालाहरू आयोजना गरिनेछ।
पत्रकार सम्मेलनमा बोल्दै आईएसआईयुएमकी प्रतिनिधि डा. फातिमा सुलेमानले विश्वभर औषधिको सही र सुरक्षित प्रयोगबारे व्यापक जनचेतना आवश्यक रहेको बताइन्। विश्वव्यापी रूपमै एन्टिबायोटिक रेसिस्टेन्सको समस्या भयावह बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै उनले औषधिको विवेकपूर्ण प्रयोगका लागि यस्ता अन्तर्राष्ट्रिय मञ्चहरूले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
तीन दिनसम्म चल्ने गहन छलफल र कार्यपत्रहरूबाट निस्कने निष्कर्षलाई स्वास्थ्य क्षेत्रको सुधारका लागि नीति निर्माताहरूसम्म पुर्याइने आयोजकले जनाएको छ।















