काठमाडौँ — विश्वप्रसिद्ध मोबाइल गेम ‘पब्जी मोबाइल’ (PUBG MOBILE) ले आफ्नो आगामी संस्करण ३.५ (Version 3.5) अपडेटमार्फत लोकप्रिय एनिमे फ्रेन्चाइज ‘नारुतो सिपुडेन’ (NARUTO SHIPPUDEN) सँग विशेष सहकार्यको घोषणा गरेको छ। आगामी जुलाई ९ देखि उपलब्ध हुने यस अपडेटमार्फत गेमरहरूले नारुतोबाट प्रेरित नयाँ गेमप्ले, विशेष फिचर, रूपान्तरित वातावरण तथा रोमाञ्चक इन-गेम अनुभव प्राप्त गर्नेछन्।
विश्वका सर्वाधिक लोकप्रिय मोबाइल गेममध्ये पर्ने पब्जी मोबाइल र सांस्कृतिक रूपमा अत्यन्त प्रभावशाली एनिमे फ्रेन्चाइज नारुतो सिपुडेनबीचको यो सहकार्यलाई पब्जी मोबाइलको आठ वर्षे इतिहासकै सबैभन्दा महत्त्वाकांक्षी सहकार्य मानिएको छ। यससँगै गेमरहरूले पहिलोपटक पब्जी मोबाइलको प्लेटफर्ममा नारुतोको संसारलाई नयाँ, आकर्षक र अन्तरक्रियात्मक तरिकाले अनुभव गर्न पाउनेछन्।
‘नारुतो प्रोडक्सन कमिटी’ (Naruto Production Committee) को प्रत्यक्ष सुपरिवेक्षणमा तयार पारिएको यस सहकार्य अन्तर्गत गेमरहरूले नारुतो सिपुडेनबाट प्रेरित विशेष गेमप्ले, चर्चित स्थानहरू र पात्रहरूसँग सम्बन्धित विविध इन-गेम अनुभव लिन सक्नेछन्। खेलाडीहरूले हिडन लिफ भिलेज (Hidden Leaf Village), होकागे रक (Hokage Rock) र द फाइनल भ्याली (The Final Valley) जस्ता नारुतोको कथामा विशेष महत्त्व राख्ने स्थानहरूको अनुभव गर्न पाउनेछन्।
यसका साथै, गेमरहरूले चिडोरी (Chidori), रासेन्गन (Rasengan), स्याडो क्लोन (Shadow Clone) र फ्लाइङ राइझिन जुत्सु (Flying Raijin Jutsu) जस्ता चर्चित निन्जुत्सु सीपहरु प्रयोग गर्न पाउनेछन्। पब्जी मोबाइलले जनाए अनुसार यस अपडेटमा गेमरहरूले नारुतोको कथाको केन्द्रमा रहेको चर्चित पात्र ‘द नाइन टेल्स’ (The Nine Tails) विरुद्ध विशेष बोस फाइट (Boss Fight) खेल्ने अवसर समेत पाउनेछन्।
यस सहकार्य अन्तर्गत गेमरहरूले निम्न चर्चित पात्रहरूमा आधारित विशेष क्यारेक्टर सेट र थिम सामग्रीहरू क्रमशः प्राप्त गर्न सक्नेछन्:
- नारुतो (Naruto)
- सासुके (Sasuke)
- साकुरा (Sakura)
- काकासी (Kakashi)
- हिनाता (Hinata)
- सुुनाडे (Tsunade)
- जिराइया (Jiraiya)
- गारा (Gaara)
- मडारा (Madara)
यस सहकार्यबारे टेन्सेन्ट गेम्स (Tencent Games) अन्तर्गत पब्जी मोबाइल पब्लिसिङका हेड भिन्सेन्ट वाङले भने:
“नवीन सहकार्य र उत्कृष्ट गेमिङ अनुभवमार्फत अन्तरक्रियात्मक मनोरञ्जनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने प्रतिबद्धतामा पब्जी मोबाइल निरन्तर अघि बढिरहेको छ। विश्वभर नारुतोले हासिल गरेको लोकप्रियता र यसको समर्पित फ्यानबेसका कारण यो सहकार्य हाम्रो लागि स्वाभाविक छनोट बनेको हो। नारुतोका प्रिय पात्र र कथालाई पब्जी मोबाइलको रोमाञ्चक तथा विस्तृत गेमिङ अनुभवसँग जोडेर हामी गेमरहरूका लागि अहिलेसम्मकै सबैभन्दा महत्त्वाकांक्षी र बहुप्रतिक्षित सहकार्य प्रस्तुत गर्दैछौँ।”
सन् १९९९ मा सुरुवात भएदेखि नै नारुतो विश्वकै सर्वाधिक लोकप्रिय तथा सांस्कृतिक रूपमा प्रभावशाली एनिमे र माङ्गा सिरिजका रूपमा स्थापित हुँदै आएको छ। यस फ्रेन्चाइजले विश्वभर करोडौँ दर्शक तथा प्रशंसकलाई आकर्षित गर्दै आफ्नो दीर्घकालीन लोकप्रियता र पुस्ताौँदेखिको प्रभावलाई कायम राखेको छ।
पब्जी मोबाइल र नारुतो सिपुडेनबीचको यस विशेष सहकार्य तथा जुलाई ९ मा सार्वजनिक हुने भर्सन ३.५ सम्बन्धी थप जानकारीहरू छिट्टै सार्वजनिक गरिने कम्पनीले जनाएको छ। गेमरहरूले एप स्टोर (App Store) र गुगल प्ले स्टोर (Google Play Store) बाट पब्जी मोबाइल नि:शुल्क डाउनलोड गरी खेल्न सक्नेछन्।














