काठमाडौं, ३० कात्तिक, कृषि विकास बैंक लिमिटेड, बैंकका कर्मचारी तथा सर्वसाधारण शेयरधनीहरूको सहभागितामा स्थापित ‘कोष व्यवस्थापन कम्पनी लिमिटेड’ को दशौँ वार्षिक साधारण सभा कार्तिक ३० गते हार्दिक होटल बागबजार काठमाडौंमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा विभिन्न आर्थिक तथा व्यावसायिक उपलब्धिको समीक्षा गर्दै भब्यरुपमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुशिल हुमागाईंले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन अनुसार, कम्पनीले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक उतारचढाव र चुनौतीहरूका बाबजुद सन्तोषजनक वित्तीय प्रगति हासिल गरेको छ।
१. समष्टिगत आर्थिक परिदृश्य र प्रभाव
प्रतिवेदनमा उल्लेख भएअनुसार, मध्यपूर्वको द्वन्द्व तथा वैश्विक अर्थतन्त्रका सुस्त गतिको असर नेपालको अर्थतन्त्रमा पनि परेको छ। आयात लागत र मुद्रास्फीतिमा चाप देखिए पनि नेपालको वैदेशिक क्षेत्रतर्फ शोधनान्तर स्थिति रु. ६६३ अर्ब ५६ करोडले बचतमा रहेको छ भने कुल विदेशी विनिमय सञ्चिति ३८.३ प्रतिशतले बढेर रु. ३,७०४ अर्ब ५५ करोड (अमेरिकी डलर २४ अर्ब १९ करोड बराबर) पुगेको छ। यसले करिब १९.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त टेवा पुगेको देखाएको छ।
त्यस्तै, आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा नेप्से परिसूचक (NEPSE Index) घटेर २,५७९.८० विन्दुमा बन्द भएको छ भने कुल बजार पुँजीकरण रु. ४,४६३ अर्बमा सीमित भएको छ। बैंक तथा वित्तीय क्षेत्रमा लगानीको माग सुस्त रहे पनि निक्षेप परिचालन र कर्जा प्रवाहमा केही सुधारका संकेत देखिएका छन्।
२. कम्पनीको वित्तीय प्रगति र मुख्य उपलब्धिहरू
नयाँ वित्तीय मापदण्ड Nepal Financial Reporting Standards (NFRS) अनुरूप तयार पारिएको विवरण अनुसार कम्पनीले यस आर्थिक वर्षमा उत्कृष्ट वित्तीय नतिजा निकालेको छ:
- खुद मुनाफा: समीक्षा अवधिमा कम्पनीले रु. ३४ करोड ५ लाख ५ हजार खुद मुनाफा आर्जन गर्न सफल भएको छ।
- चुक्ता पुँजी र सञ्चित कोष: कम्पनीको चुक्ता पुँजी रु. ३,१०,४८,०००/- कायम रहेको छ। आर्थिक वर्ष २०८२/०८३ को अन्त्यमा सञ्चित मुनाफा रु. ४ करोड २७ लाख पुगेको छ, जसमध्ये वितरणयोग्य सञ्चित मुनाफा रु. ४ करोड ११ लाख रहेको छ।
- प्रतिशेयर आम्दानी (EPS): कम्पनीको प्रतिशेयर आम्दानी रु. १३२ कायम भएको छ।
३. लाभांश प्रस्ताव
कम्पनीले आर्थिक वर्ष २०८२/०८३ मा आर्जन गरेको वितरणयोग्य मुनाफाबाट व्यवसायको विकासका लागि सञ्चित राखी आर्थिक वर्ष २०८३ आषाढ मसान्तको चुक्ता पुँजी रु. ३,१०,४८,०००/- को १०.५० प्रतिशत का दरले आउने रु. ३२,६०,०४०/- (अक्षरेपी बत्तीस लाख साट्ठी हजार चालिस मात्र) नगद लाभांश (कर प्रयोजन समेत) वितरण गर्ने प्रस्ताव साधारण सभामा पेश गरेको छ।
४. पुँजी वृद्धिको योजना
कम्पनीको पुँजी वृद्धिका लागि मुख्य संस्थापक कृषि विकास बैंक लिमिटेडबाट रु. २२ करोड ५९ लाख ५७ हजार प्राप्त गरी तथा पुरानै शेयरधनीहरू र हाल कार्यरत कर्मचारीसहित थप पुँजी वृद्धि गरी कुल चुक्ता पुँजी रु. ३० करोड पुर्याउने योजना अघि बढाइएको छ। जसमा कृषि विकास बैंक लिमिटेडको अंश रु. २५ करोड ५० लाख र कर्मचारीहरूको अंश रु. ४ करोड ५० लाख कायम हुनेछ।
५. आगामी कार्ययोजना र भविष्यको रणनीति
कम्पनीले आगामी दिनमा आफ्नो कार्यप्रगतिलाई अझ सुदृढ बनाउन निम्न रणनीतिहरू अवलम्बन गर्ने घोषणा गरेको छ:
- अल्पकालीन प्रकृतिको शेयर, डिबेन्चर, म्युचुअल फण्ड र प्राथमिक शेयरमा लगानी विस्तार गर्ने।
- चितवनस्थित जग्गाको स्थायी प्रकृतिको सीमांकन गरी भाडामा दिने व्यवस्था मिलाउने।
- अतिकेन्द्रित जोखिम कम गर्न केही कम्पनीहरूको शेयर बिक्री गरी अन्य क्षेत्रगत शेयरहरूमा विविधीकरण गर्ने।
- सूचना प्रविधि र आधुनिक सफ्टवेयर प्रणालीको प्रयोगमार्फत शेयर खरिद-ब्री तथा लेखा प्रणालीलाई पूर्ण रूपमा व्यवस्थित र पारदर्शी बनाउने।
अन्त्यमा, कम्पनीका अध्यक्ष सुशिल हुमागाईंले कृषि विकास बैंक लिमिटेड, कम्पनी रजिष्टारको कार्यालय, महालेखापरीक्षकको कार्यालय, लेखापरीक्षकज्यूहरू तथा सम्पूर्ण शेयरधनी महानुभावहरू र कर्मचारीहरूले पुर्याउनुभएको अमूल्य सहयोग र योगदानप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभएको थियो ।














