त्रिवि नर्सिङ क्याम्पसले तीज गीत प्रतियोगिता गर्यो
काठमाडौ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगंज नर्सिङ क्याम्पसले आइतबार तीज गीत प्रतियोगिता सम्पन्न गरेको छ । नर्सिङ क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूको सात समूहबीच प्रतियोगिता भएको थियो । विशेष अतिथि साहित्यकार सम्पादक रमेश दाहालले उद्घाटन गरेको उक्त प्रतियोगिता समारोहको सभापतित्व क्याम्पस प्रमुख मुना राना थापाले गरेकी थिइन् । प्रतियोगिता समारोहका प्रमुख अतिथि इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा समाजसेवी कृष्ण कँडेल थिए भने निर्णायकहरूमा प्रा.डा. जीवेन्द्रदेव गिरी, संगीतकार तथा गायक कृष्ण गुरुङ, साहित्यकार पार्वती भट्ट थिए । प्रतियोगी सात समूहले प्रस्तुत गरेका तीज गीतहरू विशुद्ध नेपाली तीज गीतको भाकामा गाइएका थिए भने वर्तमान अवस्थामा नर्सहरूको कथाव्यथा पीडालगायतका गीतका शब्दहरूले उपस्थितहरू सबैको मन छोएको थियो । उनीहरूका गीतहरूमा नर्सिङ पेशा नभई सामाजिक सेवा भएको कारण नर्सहरूको कार्यलाई सम्मानपूर्वक हेरिनुपर्ने र उनीहरूको लागि सरकारले उचित व्यवस्था गर्न नसकेको भन्ने कुराहरूलाई व्यक्त गरिएको थियो । साथै तीजको दर खाँदा खानेकुराहरूमा ध्यान दिई आफ्नो स्वास्थ्यलाई ध्यान दिऔँ भन्ने सन्देशसहितका भावहरू गीतमा प्रस्तुत गरिएको थियो । प्रमुख अतिथिको मन्तव्यमा कृष्ण कँडेलले प्रस्तुत गीतहरू साँच्चै नै मार्मिक भएको र वर्तमान अवस्थामा पार्टी प्यालेसहरूमा ह्वीस्की बियरका साथमा डिस्को गीत तथा तीज गीतको नाममा छाडा प्रवृत्तिको गीतमा रमाउँदै तीज मनाउने महिलाहरूलाई समेत सन्देश दिएको बताएका थिए । तीज गीत प्रतियोगितामा प्रस्तुत गरिएका गीतहरुले आफूलाई ३० वर्षअघि फर्काएको अनुभव व्यक्त गरेका थिए भने प्रस्तुत प्रतियोगीहरूलाई इन्द्रेणी कार्यक्रममा सहभागी गराएर गीतका व्यथाहरू र सन्देशलाई सम्बन्धित निकायसम्म पुर्याउने कुरा व्यक्त गरेका थिए । ...


















