काठमाडौँ — भुक्तानी सेवा प्रदायक इसेवा र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा ‘स्क्यान एन्ड केयर’ (Scan & Care) बीमा योजना अब डिजिटल माध्यमबाटै खरिद गर्न सकिने भएको छ । सर्वसाधारणसम्म बीमा सेवाको पहुँच सहज, सरल र द्रुत बनाउने उद्देश्यका साथ दुई संस्थाबीच यो साझेदारी भएको हो ।
यस योजनाअन्तर्गत ग्राहकहरूले कुल रु. १ लाखसम्मको बीमा सुरक्षा प्राप्त गर्न सक्ने इसेवाले जनाएको छ । बीमा रकमलाई दुई भागमा बाँडिएको छ:
- टर्म लाइफ इन्स्योरेन्स: रु. ५० हजारसम्मको सुरक्षा
- सन मेडिकेयर (स्वास्थ्य बीमा): रु. ५० हजारसम्मको सुरक्षा
इसेवा एपमा रहेको क्यूआर (QR) कोड स्क्यान गरेर १८ देखि ६० वर्ष उमेर समूहका योग्य व्यक्तिहरूले सजिलै यो बीमा योजना लिन सक्नेछन् । उमेर र बीमा सुरक्षाका आधारमा वार्षिक बीमाशुल्क रु. ७६० देखि रु. १,४०५ सम्म निर्धारण गरिएको छ ।
यसअघि शाखा कार्यालय तथा अभिकर्तामार्फत मात्र उपलब्ध हुँदै आएको ‘स्क्यान एन्ड केयर’ योजनालाई प्रविधिमैत्री बनाउँदै आम नागरिकको पहुँचमा पुर्याउन डिजिटल सहकार्य गरिएको बताइएको छ । बीमा क्षेत्रलाई प्रविधिसँग जोड्दै आएको इसेवाले विभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरूसँग मिलेर बीमाशुल्क भुक्तानी, नयाँ पोलिसी खरिद र अन्य डिजिटल सेवा प्रदान गर्दै आएको छ । आगामी दिनमा डिजिटल माध्यममार्फत बीमाको पहुँच अझ फराकिलो बनाउने इसेवाको लक्ष्य छ ।















