काठमाडौं । नबिल बैंक लिमिटेड दक्षिण एसियाकै प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) ले दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत नबिल बैंकलाई उक्त सम्मान प्रदान गरेको हो ।
बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले बैंकको तर्फबाट उक्त अवार्ड ग्रहण गरे । सन् २०२४/२५ को वार्षिक प्रतिवेदनमा वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनका अन्तर्राष्ट्रिय मापदण्ड पालना गरेको मूल्याङ्कनका आधारमा साफाले बैंकलाई पुरस्कृत गरेको हो ।
योसँगै नबिल बैंकले दोस्रो पटक साफा मेरिट अवार्ड हात पारेको छ । यसअघि पनि बैंकले आर्थिक वर्ष सन् २०२२/२३ को प्रतिवेदनका आधारमा निजी क्षेत्र बैंकिङतर्फ यो अवार्ड जितेको थियो ।
अवार्ड प्राप्तिबारे प्रतिक्रिया दिँदै नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले यो सम्मान समग्र नेपाली बैंकिङ क्षेत्रकै लागि गर्वको विषय भएको बताए । “यो सम्मानले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली बैंकिङ क्षेत्रले हासिल गरेको विश्वसनीयता र व्यावसायिक उत्कृष्टतालाई प्रतिबिम्बित गर्दछ,” सिइओ ज्ञवालीले भने, “यो वित्तीय पारदर्शिता र संस्थागत सुशासनलाई निरन्तर अभ्यासका रूपमा आत्मसात् गर्दै आएको हाम्रो प्रतिबद्धताको क्षेत्रीय मूल्याङ्कन हो ।”
नबिल बैंकले सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदनका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड अवार्ड’ समेत जितिसकेको छ । राष्ट्रिय तथा क्षेत्रीयस्तरका दुवै सम्मानले सरोकारवालालाई बैंकको वित्तीय अवस्था, जोखिम व्यवस्थापन, रणनीति र दिगोपनाबारे विश्वसनीय जानकारी दिन बैंकले अपनाएको अभ्यासलाई थप पुष्टि गरेको छ ।
चार दशकभन्दा लामो इतिहास बोकेको नबिल बैंकले डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ मार्फत आधुनिक सेवा विस्तार गर्दै आएको छ । बैंकले हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा दिइरहेको छ ।















