काठमाडौं । निर्देशक सरोज पौडेलको निर्देशनमा बनेको फिल्म ‘सिन्दुरे जात्रा’को ट्रेलर सार्वजनिक गरिएको छ। मंसिर १८ गतेदेखि प्रदर्शनमा आउने फिल्मको ट्रेलरले कथावस्तुबारे संक्षिप्त झलक प्रस्तुत गरेको छ।
कटुवालले गाउँलेलाई सूचना सुनाएको दृश्यबाट सुरु हुने ट्रेलरमा विजय बराल र अञ्जना बराइली विवाहको रात प्रेमिल संवाद गरिरहेको देखिन्छ। तर, त्यसलगत्तैका दृश्यमा अञ्जना विनोद न्यौपानेको पछिपछि हिँडिरहेको देखिन्छिन्।
ट्रेलरको अन्त्यमा अञ्जना डाँको छाडेर रोइरहेको र विजयको आँखामा आँसु भरिएको दृश्यले फिल्ममा प्रेमसँगै धोका र वियोगको कथा पनि समेटिएको संकेत गर्छ।
सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा विजय, अञ्जना र विनोदसँगै उषा खड्गी, राकेश खड्का, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोलाराज सापकोटा, हिउँवाला गौतम, रजनी गुरुङ, देशभक्त खनाल, अनिता गिरी, विनोद परियार र यूना खड्कालगायत कलाकारको अभिनय रहेको छ। फिल्मका निर्माता नेम महर्जन हुन्।
निर्देशक पौडेलकै कथा रहेको फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले लेखेका हुन्। फिल्ममा पदमबहादुर श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत, स्मृति तिमिल्सिना (गुरुआमा)को कोरियोग्राफी तथा सुप्रिम पराजुलीको रंग संयोजन रहेको छ।
फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने राकेश खड्का र श्याम मगर सहनिर्माताका रूपमा रहेका छन्।
२० वर्षपछि निर्माता तथा कलाकारका रूपमा पुनः चलचित्र क्षेत्रमा फर्किएका राकेश खड्काको फिल्म ‘सिन्दुरे जात्रा’प्रति चलचित्र क्षेत्रका वरिष्ठ व्यक्तित्व नीर शाहले समेत चासो व्यक्त गरेका छन्। उनले आफ्ना मित्र खड्काको फिल्म हेर्ने इच्छा व्यक्त गर्दै सम्पूर्ण नेपाली दर्शकलाई चलचित्र हेर्न आग्रह गरेका छन्।















