मानव इतिहासको विसौँ शताब्दीको उत्तरार्धमा विश्व राजनीति, शीतयुद्धको अन्त्य र समाजवादी व्यवस्थाको विघटनमा सबैभन्दा बढी चर्चित र विवादास्पद पात्रका रूपमा मिखाइल गोर्भाचोभ उभिएका छन्।
सोभियत संघको कम्युनिस्ट पार्टीका अन्तिम महासचिब तथा राष्ट्रपति रहेका गोर्भाचोभले अगाडि बढाएका सुधारका कार्यक्रमहरूले एक महाशक्ति राष्ट्रको भूगोल र राजनीतिक मानचित्रलाई नै सदाका लागि बदलिदिए। विश्व राजनीतिमा उनलाई एकथरिले शान्तिको अग्रदूत र सुधारक मान्छन् भने अर्कातर्फ मार्क्सवादी-लेनिनवादीहरूले समाजवादी व्यवस्थाका गद्दार तथा सोभियत संघको विनाशका मुख्य सूत्रधारका रूपमा मूल्याङ्कन गर्ने गरेका छन्।
ऐतिहासिक उदय र सुधार
सन् १९८५ मा सोभियत संघको सर्वोच्च नेतृत्व सम्हाल्दा देश गहिरो आर्थिक मन्दी, प्रशासनिक जडता, र प्रविधिको विकासमा पश्चिमा देशहरूसँगको पिछडाइबाट गुज्रिरहेको थियो। यही संकटलाई समाधान गर्ने उद्देश्यका साथ गोर्भाचोभले ‘पेरेस्त्रोइका’ अर्थात आर्थिक तथा राजनीतिक पुनर्संरचना र ‘ग्लास्नोस्त’ अर्थात खुलापन तथा पारदर्शिता जस्ता दुई प्रमुख नीतिहरू अगाडि सारे।
उनको उद्देश्य सोभियत अर्थतन्त्रलाई गतिशील बनाउनु, राज्यको नियन्त्रण केही खुकुलो पार्नु र जनतालाई अभिव्यक्ति स्वतन्त्रता दिनु थियो। तर यी सुधारका नीतिहरूले सकारात्मक परिणाम दिनुको सट्टा राज्यको आधारभूत संरचनालाई नै कमजोर बनाउन पुगे।
गोर्भाचोभको कालखण्ड र उनका नीतिहरू सोभियत समाजवादको गम्भीर सैद्धान्तिक र वैचारिक स्खलन थियो। मार्क्सवादले समाजको विकास भौतिक उत्पादन सम्बन्ध र वर्गसंघर्षको नियमबाट निर्देशित हुन्छ भनी सिकाउँछ। तर गोर्भाचोभले सोभियत संकटको समाधान उत्पादन सम्बन्धको वैज्ञानिक विकास र समाजवादी लोकतन्त्रको सुदृढीकरणमार्फत गर्नुको सट्टा पुँजीवादी उदारवादको अन्धो नक्कल गरे। उनी वर्गसंघर्षको मार्क्सवादी सिद्धान्तबाट च्युत भए र वर्गीय दृष्टिकोणलाई छोडेर मानवजाति साझा हितको आदर्शवादी सिद्धान्तमा अल्झिए।
ग्लास्नोस्तको नाममा राज्यमा अराजकता फैलिने छुट दिइयो जसले गर्दा साम्राज्यवादी शक्तिहरू र देश भित्रका प्रतिक्रियावादी तथा दलाल तत्त्वहरूलाई सोभियत राज्यसत्ताविरुद्ध खेल्ने खुला मैदान मिल्यो। पेरेस्त्रोइकाको नीतिले समाजवादी अर्थतन्त्रको योजनावद्ध चरित्रलाई भत्काएर खुला बजार अर्थतन्त्रको दिशामा लैजान खोज्यो, जसले गर्दा कालोबजारी, मूल्यवृद्धी र आर्थिक विचलनले सीमा नाघ्यो। परिणामस्वरुप, जनताको क्रान्तिकारी चेतना र राज्यप्रतिको विश्वास टुट्दै गयो।
अन्ततः गोर्भाचोभका यी सुधारहरूले सोभियत संघलाई सुदृढ पार्नुको सट्टा त्यहाँको बाह्य र आन्तरिक अन्तर्द्वन्द्वलाई चर्काए। पूर्वी युरोपमा समाजवादी सत्ताहरू ढल्दै गर्दा र सोभियत संघभित्र राष्ट्रिय अतिवाद सल्किँदा पनि उनले त्यसलाई वैज्ञानिक र वर्गीय ढंगले नियन्त्रण गर्न सकेनन्।
फलस्वरुप, सन् १९९१ डिसेम्बरमा उनको अदूरदर्शी नीति र आत्मसमर्पणवादी सोचकै कारण विश्वको पहिलो श्रमजीवी राज्य सोभियत संघको औपचारिक विघटन भयो। मार्क्सवादी दृष्टिमा गोर्भाचोभ एउटा ऐसा पात्र हुन् जसले आफ्नो सैद्धान्तिक अज्ञानीपन र अवसरवादी सुधारवादका कारण विश्व समाजवादी आन्दोलनलाई शताब्दीकै ठुलो धक्का दिए।













