काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउण्डर मोहम्मद सैफुद्दिनलाई अनुबन्ध गरेको छ ।
पोखराले तेस्रो संस्करणको एनपीएलका लागि अनुबन्ध गरेको सैफुद्दिन तेस्रो बंगलादेशी खेलाडी हुन् भने समग्रमा पाँचौ विदेशी खेलाडी हुन् ।
पोखराले यसअघि नै बंगलादेशका चरच्ति अलराउण्डर शाकिब अल हशन र महेदी हसनलाई अनुबन्ध गरिसकेको छ । यस्तै श्रीलंका अलराउण्डरद्वय धनन्जय लक्षण र चामिका करुणारत्नेलाई पनि अनुबन्ध गरेको छ ।
पेस बलिङ अलराउण्डर सैफुद्दिनलाई अनुबन्ध गरेपछि पोखराको लोअर अर्डर र पेस बलिङ डिपार्टमेन्ट बलियो बनेको छ । नेपाली मिडियम पेसर आकाश चन्दसँगै सैफुद्दिन र चामिका करुणारत्नेले पेस बलिङ डिपार्टमेन्ट सम्हाल्नेछन् ।
२९ वर्षीय सैफुद्दिनले बंगलादेशका लागि ३० ओडिआई र ५१ टी२०आई खेल खेलेका छन् । उनले ओडिआईमा ४२ र टी२०आईमा ५७ विकेट लिएका छन् । यस्तै सबैखाले टी२० मा १५२ खेल खेल्दै १९३ विकेट लिएका छन् ।
सैफुद्दिनले बंगलादेशको यू१९ टिम र राष्ट्रिय टिमसँगै बंगलादेशको पाँच फरक फ्रेन्चाइज टिमबाट त्यहाँको लिग खेलिसकेका छन् ।
एनपीएलको तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले श्रीलंकाकै पूर्वस्टार स्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । पोखराले यसपटक मुख्य प्रशिक्षक देखि विदेशी खेलाडीहरुमा पनि परिवर्तन गर्दै सन्तुलित टिम बनाएको छ । श्रीलंकन धननज्य लक्षणलाई मात्र पोखराले तेस्रो सिजनमा निरन्तरता दिएको छ ।
बाँकी चार विदेशी खेलाडी पहिलो पटक एनपीएल खेल्ने तयारीमा छन् ।
यसैगरी, भारतीय पूर्वक्रिकेटर तथा टी२० विश्वकप विजेता इरफान पठानलाई टोलीको क्रिकेट एम्बेसडर नियुक्त गरिएको छ ।
पोखरा एभेन्जर्सले मार्की खेलाडी कुशल भुर्तेलसहित सागर ढकाल, अर्जुन कुमाल, विपिन खत्री, आकाश चन्द, किरण ठगुन्ना र दिनेश खरेललाई रिटेन गर्दै अर्जुन घर्ती मगर, विवेक रानामगर, सुदीप अर्याल, सन्नी बीके, विपिन आचार्य र प्रतीक पोखरेललाई अक्सनबाट आबद्ध गरेको थियो ।
स्थानीय प्रतिभा, राष्ट्रिय टोलीका अनुभवी खेलाडी र अन्तर्राष्ट्रिय स्तरमा अनुभव बटुलेका क्रिकेटरलाई समेट्दै पोखरा एभेन्जर्सले तेस्रो संस्करणका लागि सन्तुलित टोली निर्माण गरेको छ र पहिलो पटक उपाधि जित्ने लक्ष्य राखेको छ ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:













