काठमाडौं — भुजुङ्ग हाइड्रोपावर लिमिटेडको पाँचौं वार्षिक साधारणसभा बिहीबार काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा कम्पनीका अध्यक्ष माधव राज आचार्यको अध्यक्षतामा भव्यताका साथ सम्पन्न भएको छ। साधारणसभाले अन्य कम्पनी तथा आयोजनाहरूमा लगानी विस्तार गर्न सक्ने गरी प्रबन्धपत्र तथा नियमावली संशोधनको विशेष प्रस्ताव सर्वसम्मत पारित गर्दै कम्पनीको आगामी व्यावसायिक दायरा फराकिलो बनाएको छ।
सभाले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन, असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत सम्पूर्ण वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ। साथै, सञ्चालक समितिबाट भएका काम–कारबाहीको अनुमोदन गर्नुका साथै आव २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण प्रस्तावसमेत स्वीकृत गरेको छ।
विद्युत् बिक्री आम्दानीमा २८% भन्दा बढीको वृद्धि
लमजुङको क्व्होलासोथार गाउँपालिकामा सञ्चालित ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत् आयोजनाले व्यावसायिक उत्पादन सुरु गरेसँगै कम्पनीको वित्तीय अवस्था सुदृढ बन्दै गएको छ। २०८१ वैशाख ६ (१८ अप्रिल २०२४) देखि उत्पादन थालेको यस आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री हुँदै आएको छ।
कम्पनीले प्रस्तुत गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२/८३ मा विद्युत् बिक्रीबाट १६ करोड ९९ लाख २३ हजार ६०६ रुपैयाँ बिलिङ भएको छ। यो अघिल्लो आव २०८१/८२ को १३ करोड २६ लाख ४२ हजार २७ रुपैयाँको तुलनामा उल्लेखनीय वृद्धि हो।
पुँजीगत ढाँचा र सेयर लक-इन अवधि
कुल १ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको भुजुङ्ग हाइड्रोपावरमा संस्थापक सेयरधनीको ८० करोड रुपैयाँ (८०%) र सर्वसाधारण सेयरधनीको २० करोड रुपैयाँ (२०%) लगानी रहेको छ। आयोजनाका लागि कुमारी बैंकको अगुवाइमा साङ्ग्रिला डेभलपमेन्ट बैंकको सहभागितामा सह-वित्तीयकरण कर्जा व्यवस्थापन गरिएको हो।
कम्पनीका अनुसार सामूहिक लगानी कोषतर्फको ५० हजार कित्ता सेयरको लक-इन अवधि २०८३ साउन २६ गते समाप्त भइसकेको छ। यद्यपि, संस्थापक, स्थानीय प्रभावित बासिन्दा र कर्मचारीतर्फको सेयरको लक-इन अवधि भने २०८५ माघ २७ गतेसम्म कायम रहने कम्पनीले जनाएको छ।














