७ मंसिर, काठमाडौं । भारतको दुई दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्रीले बालेन शाह स्वदेश फर्किएका छन् ।
उनी केहीबेर अघिमात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका प्रधानमन्त्री शाह हिजो त्यसतर्फ गएका थिए ।
नेपाली प्रतिनिधिमण्डलको टोलीसहित भारत गएका उनको यो पहिलो औपचारिक भ्रमण हो ।
प्रधानमन्त्री शाहलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला लगायतले बिदाइ गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमण क्रममा कुल ६ परियोजना शिलान्यास तथा हस्तान्तरण गरिएको छ ।
समकक्षी नरेन्द्र मोदीसँगको द्विपक्षीय छलफलपछि आयोजित पत्रकार सम्मेलनमा यी आयोजना शिलान्यास तथा हस्तान्तरण गरिएको हो । प्रधानमन्त्री शाह र समकक्षी मोदीले ६ सय ६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना शिलान्यास गरे ।
यो आयोजना नेपाल र भारतको संयुक्त लगानीमा बन्ने छ । संखुवासभा चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा निर्माण हुने आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रुपैयाँ छ ।
आयोजना निर्माणका लागि लगानी बोर्ड र भारतीय कम्पनी एसजेभीएन तल्लो अरुण पावर डेभलपमेन्ट कम्पनीबीच १८ जेठ २०८० मा परियोजना विकास सम्झौता भएको थियो ।
आजै बनवासा सुक्खा बन्दरगाह समेत शिलान्यास गरिएको छ । उता, सिलिगुडी-झापा पेट्रोलियम पाइपलाइन र झापामा टर्मिनलको समेत आजै शिलान्यास गरिएको छ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन हस्तान्तरण समेत दुई प्रधानमन्त्रीले गरेका छन् । दुई प्रधानमन्त्रीले धार्चुला–दार्चुला पक्की पुलको समेत आजै उद्घाटन गरिएको छ ।
त्यसैगरी भारतकाे अयाेध्या र नेपालका जनकपुर जाेड्ने सरयु-कमला एक्स्प्रेस रेल सेवा उद्घाटन गरिएकाे छ । याे रामायण सर्किट परियाेजना अन्तर्गत कार्यान्वयन गरिएकाे हाे ।
अयोध्या रेलवे स्टेसनबाट उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र रेलका उच्च पदाधिकारीहरूले जनकपुर जाने रेलको बिदाइ गरे ।
यससँगै नेपाल र भारतका दुई महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक सहर प्रत्यक्ष रेल सम्पर्कमा जोडिएका छन् ।
भारतीय रेलवे विभागले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्या क्यान्टबीच नयाँ साप्ताहिक रेल सेवा सञ्चालन गर्न यसअघि नै स्वीकृति दिइसकेको थियो ।
करिब ६ सय ४ किलोमिटर दुरीको यो सिधा रेल सेवाले दुई देशबीचको धार्मिक पर्यटन र सीमापार आवागमन अझ सहज बनाउने भारतीय रेल मन्त्रालयले जनाएको छ ।
भारतीय रेलवे विभागका अनुसार यो रेल सातामा एक पटक दुईतर्फी रूपमा चल्ने छ । रेलवे बोर्डको तालिका अनुसार प्रत्येक शनिबार दिउँसो १:१० बजे जनकपुरधामबाट छुटेर आइतबार बिहान ८:१० बजे अयोध्या क्यान्ट पुग्ने छ । त्यस्तै प्रत्येक सोमबार साँझ ५:५० बजे अयोध्या क्यान्टबाट (रेल नं. १५५९६) छुटेर जनकपुरधाम आउने छ ।
६ सय ४ किलोमिटर लामो यस रुटमा रेल जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम स्टेसनहरूमा रोकिने छ ।














