काठमाडौँ, असोज २० — पशुपतिनाथ मन्दिरको धार्मिक मर्यादा, परम्परा तथा प्रवेश व्यवस्थाको उल्लङ्घन भएको विषयप्रति विश्व हिन्दू परिषद् नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विश्व हिन्दू परिषद् नेपाल, मठ–मन्दिर अर्चक तथा पुरोहित विभागद्वारा जारी प्रेस विज्ञप्तिमा पशुपतिनाथ मन्दिर नेपालको राष्ट्रिय धार्मिक सम्पदाका साथै विश्वभरका हिन्दूहरूको आस्थाको सर्वोच्च केन्द्र भएकाले यसको धार्मिक परम्परा, संस्कार र विशिष्ट पूजापद्धतिको संरक्षण हुनुपर्नेमा जोड दिइएको छ।
हालै सामाजिक सञ्जालमा मुस्लिम समुदायका केही व्यक्तिहरू पशुपतिनाथ मन्दिरमा प्रवेश गरेको भिडियो सार्वजनिक भएपछि परिषद्ले उक्त कार्यलाई गम्भीर र आपत्तिजनक भन्दै विरोध जनाएको छ। धार्मिक आस्था र परम्परासँग जोडिएको संवेदनशील स्थलमा प्रचलित नियमलाई जानाजान चुनौती दिने, भिडियो बनाएर सार्वजनिक गर्ने र धार्मिक भावनामा चोट पुर्याउने कार्य स्वीकार्य नहुने परिषद्को ठहर छ।
परिषद्ले यस घटनालाई कुनै धर्म वा समुदायविरुद्धको विषयका रूपमा नभई मन्दिरको धार्मिक मर्यादा, स्थापित प्रवेश व्यवस्था र कानुनी शासनसँग सम्बन्धित विषयका रूपमा हेर्नुपर्ने स्पष्ट पारेको छ। नेपालको संविधानले धार्मिक स्वतन्त्रता तथा सबै धर्म र समुदायप्रतिको सम्मान सुनिश्चित गरे पनि धार्मिक स्वतन्त्रताको अर्थ अर्को धर्मको विशिष्ट धार्मिक स्थलको नियम र परम्परा उल्लङ्घन गर्नु नभएको विज्ञप्तिमा उल्लेख छ।
परिषद्ले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग माग गरेको छ। साथै, पशुपति क्षेत्र विकास कोषले मन्दिरको प्रवेश व्यवस्था, सुरक्षाकर्मी तथा कर्मचारीको भूमिकाबारे छानबिन गरी तत्काल सत्यतथ्य स्पष्ट पार्नुपर्ने माग समेत राखिएको छ।
भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रवेश व्यवस्था, सुरक्षा तथा अनुगमन प्रणालीलाई थप प्रभावकारी र कडा बनाउन कोषसँग आग्रह गरिएको छ। यसका साथै सामाजिक सञ्जालमार्फत हिन्दूहरूको धार्मिक आस्थामाथि ठेस पुर्याउने किसिमका सामग्री प्रचार-प्रसार नगर्न पनि परिषद्ले सबैमा अनुरोध गरेको छ।
पशुपतिनाथ केवल एउटा मन्दिर मात्र नभई नेपालको सनातन सभ्यता, संस्कृति, धार्मिक आस्था र पहिचानसँग जोडिएको अमूल्य सम्पदा भएकाले यसको मर्यादा र परम्परा संरक्षण गर्नु राज्य, सम्बन्धित निकाय तथा सम्पूर्ण नेपाली समाजको साझा दायित्व भएको परिषद्ले जनाएको छ।















