काठमाडौँ। नेपाल ल्यूब आयल लिमिटेडको ३५ औं वार्षिक साधारण सभा आश्विन १९ गते द प्लाजा, ललितपुरमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्मन्न भएको छ । नेपालको प्रतिष्ठित लुब्रिकेन्ट्स उत्पादक कम्पनी नेपाल ल्युब आयल लिमिटेड (Gulf Lube Oil) ले आफ्नो स्थापनाकालदेखिकै उच्च सफलता हासिल गर्दै समीक्षा वर्षमा कुल ४,११४ किलोलिटर (के.एल.) लुब्रिकेन्ट्स उत्पादन तथा बिक्री गर्न सफल भएको छ। कम्पनीको इतिहासमै पहिलोपटक ४,००० के.एल. को सीमा नाघेर यो ऐतिहासिक कीर्तिमान कायम भएको हो।
कम्पनीका अध्यक्ष श्री करण कुमार चौधरीद्वारा ३५औँ वार्षिक साधारण सभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार कठिन भूराजनीतिक परिस्थिति र कच्चा पदार्थ (बेस आयल) को उच्च मूल्य वृद्धिका बाबजुद कम्पनीले यो अभूतपूर्व प्रगति हासिल गरेको बताउनु भयो ।

प्रमुख उपलब्धि तथा बजार स्थिति
- नम्बर एक स्थान सुदृढ: विगत १५ वर्षमा पहिलोपटक कम्पनीले निकटतम प्रतिस्पर्धीभन्दा बजार हिस्सामा १ प्रतिशत बिन्दुभन्दा बढीको फराकिलो अन्तर कायम गरी नेपालको लुब्रिकेन्ट्स बजारमा आफ्नो ‘नम्बर १’ स्थान निर्विवाद रूपमा पुष्टि गरेको छ।
- ट्रान्सफर्मर आयल र बीटुबी (B2B) मा तीव्र वृद्धि: नेपाल विद्युत प्राधिकरण र ठूला ट्रान्सफर्मर उत्पादकहरूको उच्च रोजाइमा पर्दै कम्पनीले आन्तरिक मागको करिब ९० प्रतिशत भाग धान्न सफल भएको छ। साथै औद्योगिक (B2B) व्यवसायको योगदान साढे २३ प्रतिशतबाट बढेर साढे ४३ प्रतिशत पुगेको छ।
- स्वदेशी उत्पादनमा जोड: कम्पनीले आफ्नो कुल उत्पादनको ८३ प्रतिशतभन्दा बढी भाग स्वदेशमै (Local Blending) उत्पादन गरी आयात प्रतिस्थापनमा ठूलो योगदान पुर्याएको छ।
- व्यापक वितरण सञ्जाल: ७ वटै प्रदेशमा ३५ भन्दा बढी वितरक, १९०० को हाराहारीमा खुद्रा विक्रेता र ४०,००० भन्दा बढी मेकानिक्समार्फत कम्पनीका उत्पादनहरू सर्वसुलभ रूपमा उपलब्ध भइरहेका छन्।
शेयरधनीहरूका लागि लाभांश प्रस्ताव
सञ्चालक समितिको ३९०औँ बैठकले समीक्षा वर्षको मुनाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पुँजीको:
- १५% बोनस शेयर
- ६.०५२६% नगद लाभांश (लाभांश कर प्रयोजनसहित)
वितरण गर्ने प्रस्ताव साधारण सभाबाट पारित भएको छ।
आगामी रणनीति र महत्त्वाकांक्षी लक्ष्य
कम्पनीले आगामी आर्थिक वर्षका लागि ५,०२८ के.एल. उत्पादन तथा बिक्री गर्ने लक्ष्य राखेको छ, जुन समीक्षा वर्षको तुलनामा करिब २२ प्रतिशतले बढी हो।
- १:२ हकप्रद शेयर (Right Share): कम्पनीले पुँजीगत योजनाहरू (Grease Plant, Transformer Oil Storage, ERP/DMS प्रणाली) पूर्ण रूपमा अघि बढाउन १:२ को अनुपातमा हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्ड (SEBON) समक्ष निवेदन पेस गरिसकेको छ।
- इलेक्ट्रिक भेहिकल (EV) र नयाँ उत्पादन: इभी (EV) प्रविधिको विस्तारलाई ध्यानमा राख्दै EV Coolant, Thermal Management Fluids लगायतका नयाँ उत्पादनहरू र प्रिमियम लुब्रिकेन्ट्स पोर्टफोलियो बढाउने योजना बनाएको छ।
- नयाँ नेतृत्व: कम्पनीको अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत (Chairman & CEO) मा श्री करण कुमार चौधरी सर्वसम्मत रूपमा नियुक्त हुनुभएको छ।














