असाेज ११, काठमाडौं । सन् २०१० मा ‘ससः द नेवाः’ बाट सुरु भएको यात्रा ‘गौरवता नेपाल’ परियोजनाका रूपमा विस्तार भएको छ। नेपालको कला, संस्कृति, भाषा, परम्परा तथा पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित परियोजनाको औपचारिक शुभारम्भ आगामी अक्टोबर १० तारिखमा हुने भएको छ।
परियोजनाको औपचारिक सुरुवात नेपालको चर्चित लोक–आधुनिक ब्यान्ड ‘नेपथ्य’को भव्य सांगीतिक कन्सर्टबाट गरिने आयोजकले जनाएको छ। सोही अवसरमा ‘गौरवता नेपाल’को आधिकारिक वेबसाइट GAURABTA.COM को पनि शुभारम्भ गरिनेछ।
‘ससः द नेवाः’ हुँदै ‘ससः त्वाः हस्पिटालिटी प्रा.लि.’ सम्मको यात्रापछि ‘गौरवता नेपाल’लाई फराकिलो सोचका रूपमा अघि बढाइएको हो। आयोजकका अनुसार भूकम्प, नाकाबन्दी र महामारीजस्ता कठिन परिस्थितिका बीच पनि नेपालको देश, संस्कृति, भाषा र परम्पराप्रतिको प्रतिबद्धताले यात्रालाई निरन्तरता दिन ऊर्जा प्रदान गरेको हो।
‘हामी गौरवताका धनी छौँ, अझ अगाडि बढ्नेछौँ’ भन्ने मूल भावका साथ परियोजनाले नेपालको कला, संस्कृति र पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ।
परियोजनाको शुभारम्भ कार्यक्रममा पत्रकार तथा सञ्चारकर्मी, प्रायोजक संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
आयोजकले नेपालको समृद्ध कला, संस्कृति र सम्पदाको संरक्षण तथा प्रवर्द्धनमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्दै अभियानमा जोडिन र साथ दिन सबैलाई आह्वान गरेको छ।














