काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) र विश्व हिन्दू आर्थिक मञ्च डब्लुएचईएफ बीच सन् २०२७ मा नेपालमा आयोजना हुने विश्व हिन्दू आर्थिक मञ्चको सम्मेलनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
बुधबार महासंघ सचिवालयमा आयोजित एक विशेष कार्यक्रमका बीच महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष सुरज वैद्यले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको हो।
- लगानीको गन्तव्य: नेपाललाई विश्वस्तरको लगानी, नवप्रवर्तन तथा उद्यमशीलताको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने।
- परियोजना पहिचान: सातै प्रदेशका लगानीयोग्य सार्वजनिक–निजी साझेदारी (PPP) परियोजनाहरूको पहिचान तथा प्रवर्द्धन गर्ने।
- वैदेशिक लगानी: देशमा वैदेशिक प्रत्यक्ष लगानी (FDI) आकर्षित गर्ने।
- आर्थिक कूटनीति: नेपालको आर्थिक कूटनीतिलाई थप सुदृढ र प्रभावकारी बनाउने।
कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय लगानी, व्यापार तथा व्यावसायिक साझेदारीको आकर्षक केन्द्र बनाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो:
“नेपालसँग प्राकृतिक स्रोत, सांस्कृतिक सम्पदा तथा रणनीतिक भौगोलिक अवस्थिति जस्ता विशिष्ट सम्भावनाहरू छन्। ती सम्भावनालाई उत्पादन, लगानी र रोजगारीमा रूपान्तरण गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक छ। यस समझदारीले नेपालका ती सम्भावनाहरूबाट लाभ लिन ठूलो सहयोग पुग्नेछ।”
त्यस्तै, विश्व हिन्दू इकोनोमिक फोरम नेपाल–२०२७ आयोजक समितिका अध्यक्ष एवं महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले यो सम्मेलनले वैदेशिक लगानी आकर्षित गर्न, युवा उद्यमशीलताको प्रवर्द्धन गर्न र नेपालको आर्थिक विकासलाई नयाँ गति दिन सहयोग पुर्याउने बताउनुभयो।
विश्व हिन्दू इकोनोमिक फोरमका संरक्षक स्वामी विज्ञान आनन्दले नेपाल अगाध सम्भावना भएको मुलुक रहेको उल्लेख गर्दै सम्मेलनको माध्यमबाट नेपालको आर्थिक विकासका लागि नयाँ सम्भावनाहरूको खोजी गर्न सकिने धारणा राख्नुभयो।
महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले यस फोरमको माध्यमबाट देशभरका उद्योगी–व्यवसायी, प्रदेश तथा जिल्ला तहका सदस्य संस्थाहरूलाई परिचालन गरिने बताउनुभयो। उहाँले लगानीयोग्य परियोजनाको पहिचानमा सहकार्य गर्ने तथा सरकार र निजी क्षेत्रबीच संवाद र नीतिगत सहजीकरणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, उपाध्यक्ष कृष्णप्रसाद शर्मा, र विश्व हिन्दू इकोनोमिक फोरम नेपालका अध्यक्ष प्रदीपमान वैद्य लगायतको उपस्थिति थियो। उहाँहरूले यस अन्तर्राष्ट्रिय सञ्जालमार्फत विश्वका लगानीकर्ता, उद्योगी, व्यवसायी तथा नीति निर्माताहरूलाई नेपालमा ल्याएर बाह्य लगानी प्रवर्द्धन गर्न सकिनेमा जोड दिनुभयो।
समझदारीपत्र अनुसार फोरममार्फत नेपालका निम्न प्राथमिकताका क्षेत्रहरूमा लगानी प्रवर्द्धन गरिनेछ: १. पर्यटन तथा आतिथ्य (Hospitality) २. आध्यात्मिक तथा वेलनेस (Wellness) पर्यटन ३. पूर्वाधार तथा यातायात ४. शिक्षा तथा सीप विकास ५. कृषि तथा जडीबुटी प्रशोधन ६. ऊर्जा (Energy) ७. सूचना प्रविधि (IT) ८. खानी तथा खनिज पदार्थ जस्ता प्राथमिकताका क्षेत्रमा लगानी प्रवद्र्धन गरिने उल्लेख गरिएको छ ।















