काठमाडौं। सर्वोच्च अदालतले सिंहदरबारबाट नउठाइएको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी गरेको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा आदेश जारी गरेको हो ।
सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले गरेको आदेशमा भनिएको छ, ‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ ।’
आदेशमा भनिएको छ, ‘फोहरमैला विसर्जन गरिने स्थान वा ल्याण्डफिल्ड साइट अरु स्थानीय तह अन्तर्गतको स्थानमा पर्न जाँदा त्यहाँको बासिन्दा, स्थानीय तह, सरोकारवाला र काठमाडौँ महानगरपालिकासँग समेत आवश्यक समन्वय, उचित सहकार्य र सार्थक सहयोग पुर्याइ स्वच्छ वातावरण कायम गर्नुपर्नेतर्फ नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार समेतको गम्भीर ध्यानाकर्षण गराइएको छ ।’
हरेक नेपाली नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाच्न पाउने हक हुने भन्दै सर्वोच्च अदालतले फोहोर व्यवस्थापन नभई वातावरण प्रदुषित भएमा सबै आक्रान्त हुनसक्ने र महामारी फैलनसक्ने औल्याएको छ । केही दिनयताको विवरणमा काठमाडौं उपत्यका विश्वकै प्रदुषित शहरमा परेको भन्दै सर्वोच्च अदालतले तत्काल फोहोर व्यवस्थापन गर्नु भनी आदेश दिएको हो ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरवार, बालुवाटार र शितल निवास क्षेत्रको फोहोर संकलन गर्ने भनी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएपछि फोहोर उठ्न रोकिएको थियो ।