काठमाडौं, फागुन ३, आयोजक महेन्द्र ज्योति पूर्व विद्यार्थी मञ्च, फराकले १५ औं खुम्बु ल्होसार कप फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । अपराजित रहदै च्याम्पियन बनेको महेन्द्र ज्योतिले पहिलोपटक उपाधि जितेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनलमा महेन्द्र ज्योतिले नाम्चे युथ क्लबलाई ४–१ गोलले पराजित ग¥यो । महेन्द्र ज्योतिका पासाङ गेल्जेन शेर्पाले २ तथा पेम्बा स्माइल शेर्पा र समिप राईले १–१ गोल गरे । नाम्चेका नवाङ तेन्जिङ शेर्पाले सान्त्वना गोल गरे ।
खुम्जुङ युथ क्लबले खुम्बु युनाइटेड क्लबलाई ४–१ गोलले हराउदै तेश्रो भयो । शीर्ष तीन स्थानमा रहने टिमले क्रमशः १ लाख ५० हजार, ८० हजार र ४० हजार नगद पुरस्कार प्राप्त गरे ।
१४ पिक्स एक्सपेडिसन प्रा.लि. को मुख्य प्रायोजन तथा हेली एभरेष्ट प्रा.लि. र खुम्बु पासाङ ल्हामु गाउँपालिकाको सह–प्रायोजनमा भएको प्रतियोगितामा महेन्द्र ज्योतिका पासाङ शेर्पा सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ११ हजार नगद पुरस्कार पाए ।
महेन्द्र ज्योतिका पेम्बा स्माइल शेर्पा उत्कृष्ट स्ट्राइकर, महेन्द्र ज्योतिका पासाङ जेम्बु शेर्पा उत्कृष्ट मिडफिल्डर, नाम्चेका निमा टासी शेर्पा उत्कृष्ट डिफेन्डर, महेन्द्र ज्योतिका आशिष मगर उत्कृष्ट गोलरक्षक, खुम्जुङ युथ क्लबका फुरा छिरिङ शेर्पा सर्वाधिक गोलकर्ता, खुम्जुङकै नेरु शेर्पा उदीयमान खेलाडी तथा महेन्द्र ज्योतिका दिपेश श्रेष्ठ उत्कृष्ट प्रशिक्षक बने । उत्कृष्ट सबैले जनही ८ हजार नगद पुरस्कार हात पारे ।
नयाँ वर्ष ग्याल्बो ल्होसार में त लो २१५३ को पावन अवसरमा आयोजित प्रतियोगितामा खुम्बु यनाइटेड क्लब अनुशासित टिम बन्दै २० हजार नगद पुरस्कार पायो ।
विजेतालाई राष्ट्रिय सभाका सदस्य सोनाम गेल्जेन शेर्पा, आयोजक महेन्द्र ज्योतिका अध्यक्ष फुर गेल्जे शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । सो अवसरमा राष्ट्रिय महिला फुटबल टिमकी प्रीति राईलाई ५० हजार नगदसहित कदरपत्रबाट सम्मान गरिएको थियो । सोही अवसरमा सहयोगी विभिन्न संस्था र व्यक्तिलाई पनि सम्मान गरिएको थियो ।
माघ २४ गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको आयोजक महेन्द्र ज्योतिका महासचिव पेम्बा छिरी शेर्पाले जनाएका छन् ।

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:














