काठमाडौं, मंसीर १ — नेपालको कृषि क्षेत्रको एक महत्त्वपूर्ण नगदे तथा उच्च मूल्ययुक्त बालीका रूपमा स्थापित कफीको उत्पादनमा उत्साहजनक वृद्धि देखिएको छ। राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २२औँ राष्ट्रिय कफी दिवसको अवसरमा सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा कुल ७९० मेट्रिक टन ग्रीन बीन कफी उत्पादन भएको छ।
वि.सं. १९५९ सालमा गुल्मीको आपचौरबाट सामान्य रूपमा सुरु भएको कफी खेती हाल देशका करिब ४७ जिल्लामा विस्तार भइसकेको छ। कुल कफी खेतीको क्षेत्रफल ६,१६६.६ हेक्टर पुगेको बोर्डले जनाएको छ।
एकातर्फ स्वदेशी तथा परराष्ट्र बजारमा नेपाली कफीको उच्च स्वाद र गुणस्तरका कारण माग बढ्दो छ भने अर्कातर्फ आन्तरिक माग धान्न अझै पनि ठूलो मात्रामा कफी आयात भइरहेको छ।
- भन्सार विभागको तथ्यांक अनुसार आ.व. २०८२/८३ मा २५९ मेट्रिक टन कफी नेपालमा आयात भएको छ, जसका लागि १९ करोड ४७ लाख १७ हजार रुपैयाँ बाहिरिएको छ।
- यता, सोही अवधिमा ७०.९ मेट्रिक टन (७०,९८९ केजी) कफी अन्तर्राष्ट्रिय बजारमा निर्यात हुँदा १४ करोड ४९ लाख ५७ हजार रुपैयाँ आर्जन भएको छ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीले अन्य देशको तुलनामा बढी मूल्य पाइरहे पनि आन्तरिक माग र आपूर्तिको खाडल अझै पुरिन सकेको छैन।
२२औँ राष्ट्रिय कफी दिवसको नारा र भावी योजना
“उत्पादनमा वृद्धि, गुणस्तर सुधार, नेपाली कफीको विश्व बजारमा विस्तार” भन्ने मुख्य नारासहित यस वर्ष २२औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ। बोर्डले कफी क्षेत्रको समग्र विकासका लागि उत्पादन वृद्धि मात्र नभई प्रशोधन उद्योग स्थापना, प्रविधि विस्तार, र युवा पुस्तालाई स्वरोजगार तथा उद्यमशीलतासँग जोड्ने नीति अघि बढाएको छ।
कफी खेतीलाई परम्परागत प्रणालीबाट आधुनिकीकरण र व्यावसायिक बनाउन सके मात्रै आयात प्रतिस्थापन गरी देशलाई आत्मनिर्भर बनाउन सकिने निष्कर्ष बोर्डले निकालेको छ।














