काठमाडौँ । सामाजिक विषयवस्तु र सकारात्मक परिवर्तनको सन्देश बोकेका चलचित्रलाई प्रोत्साहन गर्दै आएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ‘अल्टरनेटिभ फिल्म फेस्टिभल’ (एएफएफ) ले सन् २०२७ मा आयोजना हुने चौथो संस्करणका लागि आवेदन खुला गरेको छ ।
सन् २०२७ को अन्त्यतिर पहिलो पटक अफ्रिकामा आयोजना हुन लागेको यस फेस्टिभलमा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले सहभागिता जनाउन सक्नेछन् । फेस्टिभलअन्तर्गत फिचर फिल्मतर्फ तीनवटै क्षेत्रका चलचित्रकर्मीले आवेदन दिन पाउनेछन् भने सर्ट फिल्मतर्फ अफ्रिकी चलचित्रकर्मीलाई मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ ।
कुल १ लाख २० हजार अमेरिकी डलर पुरस्कार राशि रहेको फेस्टिभलका लागि सन् २०२६ अक्टोबर २९ देखि सन् २०२७ मार्च १ सम्म निःशुल्क आवेदन दिन सकिनेछ । फेस्टिभल आयोजना हुने देश, सहर र निश्चित मिति भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
अल्टरनेटिभ फिल्म फेस्टिभल विश्वव्यापी मोबिलिटी सेवा प्रदायक कम्पनी इनड्राइभको सहयोगमा सञ्चालित गैरनाफामूलक चलचित्र पहल ‘अल्टरनेटिभ’ अन्तर्गत आयोजना हुँदै आएको छ । इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टम्स्कीले स्थापना गरेको यस पहलले विशेषगरी ग्लोबल साउथ अर्थात् विकासशील तथा उदीयमान क्षेत्रका चलचित्र र चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय मञ्च प्रदान गर्दै आएको छ ।
कलात्मक उत्कृष्टतासँगै सामाजिक परिवर्तनमा योगदान पुर्याउन सक्ने चलचित्रको पहिचान, प्रवर्द्धन र सम्मान गर्नु फेस्टिभलको मुख्य उद्देश्य हो । यसले चलचित्रकर्मीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ आफ्ना सिर्जना प्रस्तुत गर्ने, पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने, व्यावसायिक सम्बन्ध विस्तार गर्ने तथा नयाँ सहकार्यका अवसर प्राप्त गर्ने मञ्च प्रदान गर्दै आएको छ ।
सन् २०२३ मा काजाकिस्तानको अल्माटीबाट सुरु भएको अल्टरनेटिभ फिल्म फेस्टिभल सन् २०२४ मा इन्डोनेसियाको योग्यकर्ता र सन् २०२६ मा कोलम्बियाको मेडेलिनमा आयोजना गरिएको थियो । प्रत्येक संस्करण फरक क्षेत्रमा आयोजना गर्ने अवधारणाअनुसार चौथो संस्करण अफ्रिकामा गर्न लागिएको हो । यससँगै फेस्टिभलले आफ्नो अन्तर्राष्ट्रिय पहुँच थप विस्तार गर्ने तथा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीबीच अनुभव आदानप्रदान र सहकार्यलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ ।
अल्टरनेटिभकी लिड लिजा सुर्गानोभाले फेस्टिभलको प्रत्येक संस्करणसँगै यसको पहुँच विस्तार हुनुका साथै चलचित्रकर्मीका लागि नयाँ अवसर सिर्जना भइरहेको बताइन् । उनले भनिन्, “हरेक संस्करणसँगै अल्टरनेटिभ फिल्म फेस्टिभलको पहुँच र आकार मात्र बढेको छैन, चलचित्रकर्मीबीच नयाँ सम्बन्ध स्थापित हुनुका साथै उनीहरूका लागि थप अवसर पनि सिर्जना भएका छन् । पहिलो पटक अफ्रिकामा फेस्टिभल आयोजना गर्ने तयारीसँगै हामी अहिलेसम्मका उपलब्धिलाई अझ विस्तार गर्दै यो संस्करणलाई हालसम्मकै ठूलो र प्रभावकारी बनाउन चाहन्छौँ । साथै, चलचित्रकर्मीका लागि नयाँ पहलहरू पनि अघि बढाउने हाम्रो योजना छ ।”
अफ्रिका विविध संस्कृति, दृष्टिकोण र मौलिक चलचित्र सिर्जनाले समृद्ध क्षेत्र रहेको उल्लेख गर्दै उनले यस संस्करणले चलचित्रमार्फत सामाजिक परिवर्तनका विषयमा नयाँ बहस र सहकार्यको अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरिन् । “हामी अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीलाई आफ्ना सिर्जना र दृष्टिकोणसहित यो यात्रामा सहभागी हुन आमन्त्रण गर्दछौँ,” उनले थपिन् ।
फिचर र सर्ट फिल्मका लागि आवेदन दिन सकिने
अल्टरनेटिभ फिल्म फेस्टिभल २०२७ मा सन् २०२६ जनवरी १ पछि निर्माण सम्पन्न भएका चलचित्रले आवेदन दिन पाउनेछन् । कथानक चलचित्र, वृत्तचित्र, एनिमेसन तथा विभिन्न शैलीको संयोजनमा निर्माण गरिएका चलचित्रलाई आवेदन खुला गरिएको छ । ४० मिनेट वा सोभन्दा बढी अवधिका फिचर फिल्मतर्फ अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका चलचित्रकर्मीले आवेदन दिन सक्नेछन् । त्यस्तै, ४० मिनेटसम्मका सर्ट फिल्मतर्फ भने अफ्रिकी चलचित्रकर्मीले मात्र आवेदन दिन पाउनेछन् ।
फेस्टिभलमा कुल १ लाख २० हजार अमेरिकी डलर बराबरको पुरस्कार राशि सातवटा विधामा वितरण गरिनेछ । तीमध्ये फिचर फिल्मतर्फको एक ‘फोकस अवार्ड’ र सर्ट फिल्मतर्फका दुई ‘सर्ट्स अवार्ड’ अफ्रिकी चलचित्रकर्मीका लागि छुट्याइएको छ ।
आवेदन दिन योग्य देशहरूको सूची, छनोट प्रक्रिया, पुरस्कारका विधा तथा अन्य आवश्यक मापदण्डबारे विस्तृत जानकारी अल्टरनेटिभको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ । फेस्टिभलले उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्नु मात्र नभई विभिन्न देशका चलचित्रकर्मीलाई एउटै मञ्चमा जोडेर अनुभव आदानप्रदान, व्यावसायिक सम्बन्ध विस्तार तथा नयाँ चलचित्र निर्माणमा सहकार्य गर्ने अवसरसमेत प्रदान गर्दै आएको छ ।















