काठमाडौँ । मंसिर १, स्वदेशी सूचना प्रविधिको प्रवर्द्धन गर्दै नेपाली स्टार्टअप तथा आईटी कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आगामी मंसिर ५ र ६ गते ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा ‘आकाशटेल नास–आईटी एक्स्पो २०२६’ आयोजना हुने भएको छ । नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास–आईटी) को आयोजनामा हुन लागेको यो दुईदिने बृहत् प्रविधि मेलाको मुख्य नारा ‘नेपालको आगामी अर्थतन्त्रलाई गति दिँदै’ (Powering Nepal’s Next Economy) तय गरिएको छ ।
यस वर्षको संस्करणमा विशेष आकर्षणका रूपमा ‘स्टार्टअप प्याभिलियन’ र दुईवटा विषयगत प्यानल छलफल थप गरिएका छन् । एक्स्पोले स्वदेशी प्रविधि कम्पनी, बैंक तथा वित्तीय संस्था, कर्पोरेट क्षेत्र, सरकारी निकाय, लगानीकर्ता र अन्तर्राष्ट्रिय साझेदारहरूलाई एउटै साझा मञ्चमा ल्याउने लक्ष्य राखेको छ । साथै, सूचना प्रविधि क्षेत्रमा भविष्य खोजिरहेका विद्यार्थी तथा युवा पेसाकर्मीहरूलाई स्वदेशमै उपलब्ध रोजगारी, उद्यमशीलता र करियरका अवसरबारे प्रत्यक्ष जानकारी गराइने आयोजकले जनाएको छ ।
नास–आईटीका अध्यक्ष विपिन चापागाईंले नेपालको सूचना प्रविधि क्षेत्र देशको अर्थतन्त्रको मुख्य संवाहक बन्ने प्रचुर सम्भावना रहेको उल्लेख गरे । “नेपाली कम्पनीहरूले विश्वस्तरका प्रविधि उत्पादन तथा सेवाहरू विकास गरिरहेका छन्,” अध्यक्ष चापागाईंले भने, “अब ती स्वदेशी उत्पादनको आन्तरिक खपत बढाउँदै अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार गर्नु आजको मुख्य आवश्यकता हो ।”
विश्व बजारदेखि आन्तरिक प्रवर्द्धनसम्मको बहस एक्स्पोको पहिलो दिन कूटनीतिक नियोगका प्रतिनिधिहरूको विशेष सहभागितामा ‘नेपालदेखिकै विश्वसम्म’ शीर्षकमा कूटनीतिक तथा व्यावसायिक संवाद हुनेछ । यस्तै, दोस्रो दिन ‘नेपालको आन्तरिक प्रविधि बजार निर्माण’ विषयमा सरोकारवालाहरूबीच गहन प्यानल छलफल चल्नेछ । दुवै दिन चल्ने ‘पिच सत्र’ मा नवप्रवर्तक स्टार्टअप तथा प्रविधि कम्पनीहरूले लगानीकर्ता र सरोकारवालामाझ आफ्ना नवीनतम उत्पादन, सेवा र समाधानहरू प्रस्तुत गर्नेछन् ।
३० भन्दा बढी प्रविधि कम्पनीको सहभागिता गत वर्ष सम्पन्न पहिलो संस्करणमा २ हजार ५०० भन्दा बढी अवलोकनकर्ता र ३० भन्दा बढी कम्पनीको उत्साहजनक सहभागिता रहेको थियो । सोही सफलतालाई निरन्तरता दिँदै यस वर्षको एक्स्पोलाई थप नतिजामुखी र व्यावसायिक सहकार्य (B2B) मा केन्द्रित गरिएको छ ।
मेलामा कृत्रिम बुद्धिमत्ता (एआई), साइबर सुरक्षा, वित्तीय प्रविधि (फिनटेक) तथा बैंकिङ, व्यावसायिक सफ्टवेयर (सास), सफ्टवेयर विकास, सञ्चार तथा डिजिटल प्लेटफर्म र शैक्षिक प्रविधि (एडटेक) लगायतका क्षेत्रमा कार्यरत ३० भन्दा बढी अग्रणी प्रविधि कम्पनीहरूको स्टल रहनेछ ।
‘आकाशटेल’ शीर्ष प्रायोजक रहेको यस एक्स्पोको सिल्भर प्रायोजकमा अम्निल टेक्नोलोजिज, एक्वाना, ग्लोबल आइएमई बैंक र थर्ड पार्टनर एआई–ए प्रिसा कम्पनी रहेका छन् । त्यस्तै, इन्टरनेट साझेदारमा डिस्कभरी तथा सहयोगी संस्थाका रूपमा किङ्स कलेज, एआरसी र बिजक आबद्ध छन् ।














