काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ४९औं वार्षिक साधारण सभा (बन्द सत्र) ललितपुरमा भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ।
संस्थाको आन्तरिक सुदृढीकरण र नीतिगत छलफलमा केन्द्रित यस सभामा सदस्यहरूको उत्साहजनक र ऐतिहासिक सहभागिता रहेको थियो।
संस्थामा हाल नवीकरण भएका कुल १ हजार ५ सय ४८ सदस्यहरूमध्ये १ हजार ४ सय ८३ जना सदस्यहरूको प्रत्यक्ष उपस्थितिमा सम्पन्न यस सभाले संस्थाप्रतिको बलियो विश्वास र एकतालाई पुष्टि गरेको छ।
साथै कार्यक्रम संस्थाको नियामक निकाय जिल्ला प्रशासन कार्यालयको निर्देशन बमोजिम सो कार्यालयसंगको समन्वयमा प्रचलित कानूनी व्यवस्थाहरू बमोजिम सम्पन्न गरिएको थियो ।
संस्थाका विभिन्न एजेण्डा र औपचारिक कार्यसूचीहरूमाथि विस्तृत छलफल गर्दै सभाले सर्वसम्मतिले प्रस्तावहरू पारित गरेको छ भने आगामी दिनका लागि संस्थागत नीति, संरचना, पारदर्शिता र भविष्यको रणनीतिक मार्गचित्रबारे गम्भीर बहस र मार्गनिर्देशन पारित भएको छ।
अटोमोबाइल व्यवसायीहरूबीचको सहकार्य, व्यावसायिक हकहित र जिम्मेवार परिचालनका विषयमा रचनात्मक विचार–विमर्श भएको छ । साथै यसै क्रममा संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही २०८२ साल पुस २५ गते निर्वाचन गर्ने निर्णय भएको छ।
साथै महासंघका विषयमा महासंघको औचित्य तथा आवश्यकता उपर छलफल भइ प्रचलित कानून बमोजिम महासंघमा समावेश गर्ने प्रस्ताव पारित भएको छ ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल सम्पूर्ण सदस्यहरूको अटुट विश्वास, साथ र समर्थनप्रति आभार व्यक्त गरेको छ। आगामी दिनमा पनि कानुनी मापदण्डको पालना गर्दै पूर्ण पारदर्र्शी र संस्थागत जिम्मेवारीप्रति कटिबद्ध रहने प्रतिबद्धता दोर्होयाएको छ ।














