- छविरमण भट्टराई
कुम्भ मेला अखिल हिन्दुहरुको पर्व हो अनि सनातनको गर्व हो । मलाई पाप पखालेर पखालिन्छ र कुनै अमूक स्थानमा नुहाउँदा पापमोचन हुन्छ भन्ने कुरामा कहिल्यै कुनै विश्वास भएन ।
तर, आफ्नो नाभि सनातनसँग जोडिएको कारणले होला प्रयागराजको महाकुम्भमा पुग्ने र गंगामा दिव्य स्नान गर्ने हुटहुटी र चाहना असाध्यै थियो ।
आफ्नो उक्त दमित ईच्छालाई आज मुर्तरुप दिईयो । यद्यपि गंगा स्नान गर्ने बित्तिकै अब जीवन सहज भैहाल्छ अनि आफुबाट भएका र अब हुने पापहरु सरक्क गैहाल्छ भन्ने म मान्दिंन ।
भीष्म पितामह स्वयं गंगाका पुत्र थिए, तर उनले पनि जीवनमा आफ्नो एकएक कर्मको हिसाब दिनुप¥यो ।
त्यसैले, आफ्नो जीवनलाई सकेसम्म निष्पाप र कर्मको हिसाब राफसाफ राखौं ।
हाम्रो अबको गन्तव्य वाराणसी !
सफर में धूप तो होगी, जो चल सको तो चलो,
सभी है भीड में, तुम भी निकल सको तो चलो !
निदा फाजलीले ठिकै भनेका रहेछन् – यात्रामा दुःख हुन्छ, तर पनि निस्किन सक्छौ भने निस्क ! भीडमा छन् सबै, तिमी पनि निस्किन सक्छौ भने निस्क !
त्यसैगरी निस्किएको एउटा धार्मिक यात्राको अन्ततः चार दिनपछि आज पटाक्षेप भएको छ । यो चार दिनमा हामी करीब एघार सय किलोमिटर गुडेका रहेछौं । हाम्रो कैयौं घण्टा त शहर छिचोल्ने क्रममा सडकजामले पनि खाएको छ ।
सायद कुम्भमेला भन्दा ठूलो भीड संसारमा अरु कुनै छैन । अहिले महाकुम्भका कारण वाराणसी, अयोध्या र प्रयागराज अत्यन्त तनावमा छन् । दुःख हाम्रा मात्र, छैनन् दुःख तिनका पनि छन् ! तर, तिनका दुःख कसले सुन्ने ?
आजै बिहान एकजना वाराणसीका स्थानीयले भन्दै थिए, सडकजामका कारण मालबाहक यातायात शहरभित्र छिर्न पाएनन्, परिणाम स्वरूप खाद्यान्नको मूल्य अत्यन्त चर्को भएको छ ।
पाँच किलोग्राम चिनी लिन जाँदा आधा किलोग्राम पाईरहेका छौं । हामीले पचास रुपैयाँमा किनेको ब्याट्रीको पानीसहितको ग्यालेन, गंगाजल भण्डारणका लागि अहिले दईसय रुपैयाँमा बिक्री भैरहेको देख्दा दुःख लाग्छ ।
जे होस्, यो धार्मिक यात्राले ठूलो भीडसँग हामीलाई साक्षात्कार गरायो । प्रयागराज, अयोध्या र वाराणसी अहिलेको महोत्सवका ईपिसेण्टर हुन् । यात्रा आनन्ददायी हुनका लागि हाम्रो सवारी पनि ठीक र दुरुस्त हुनुपर्छ, कथं भएन भने यात्रामा रुनु पर्छ ।
हामीले प्रयोग गरेको सवारी हुण्डाई कम्पनीको क्रेटा कार थियो । हामी सवारीमा बस्दा यो करीब नौ हजार पाचसय किलोमिटर मात्र चलेको थियो । चालक भाइ राजेश वर्णवाल अत्यन्त भलाद्मी र सहयोगी रहेछन् । उनको सवारी चलाउने सिप समग्रमा एकनास र आरामदायी छ । जसले हामीलाई सडक सुरक्षाको प्रश्नमा आश्वस्त तुल्यायो ।
मुझे खबर थी कि मेरा ईन्तजार घर में रहा,
ये हादसा था कि मैं उम्र भर सफर में रहा !
वाराणसी घुमघाम पश्चात् आज हामी आजमगढ, गोरखपुर, रक्सौल हुँदै वीरगञ्ज प्रस्थान गर्दैछौं । रक्सौल पुग्न हामीले करीब चारसय किलोमिटरको दुरी पार गर्नुपर्ने छ । हाम्रो फूल अप्सनको हुण्डाईको नयाँ क्रेटा राष्ट्रिय राजमार्गमा उक्लिसकेको छ र एकसय किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुदिरहेको छ ।
वाराणसी अत्यन्त पुरानो शहर हो । यो शहरसँग हाम्रो अध्यात्मिक र राजनीतिक दुबै साईनो छ । हिजोअस्ति देखि नै हाम्रा अस्थिहरु यहाँ विसर्जन हुँदै आएका छन् । हाम्रा नेताहरु वाराणसी बसेर राजनीतिको रुपरेखा कोर्थे । राजा महेन्द्र आफ्ना मान्छेलाई ’मलाई वनारसीहरुले साह्रै दुःख दिए’ पनि भन्थे रे !
यहाँ गंगाको पश्चिमी तटमा काशी विश्वनाथ छन्, जो बाह् ज्योतिर्लिङ्ग मध्येका एक हुन् । देवाधिदेवले स्वयं प्रकट भएर भक्तहरुलाई दर्शन दिएको स्थानलाई ज्योतिर्लिङ्गमा गणना गरिन्छ । काशी विश्वनाथलाई शासकीय क्षमता भएको देवता मानिन्छ । यस स्थानमा गंगा उल्टो बग्छिन् । भगवान दत्तात्रेयको सम्मानमा गंगाले विपरीत गति लिएको कथन छ ।
मसानघाटलाई तीर्थस्थलको दर्जा मिलेको अन्यत्र कहीं छ ? त्यो स्थान पनि यहीं छ । मणिकर्णिकाघाट जहाँ दैनिक औसत तीनसय शवहरु दाहसंस्कारका लागि आउँछन् । यहाँ अहर्निश चिता जलिरहेको हुन्छ । करीब तीनहजार वर्षदेखि यहाँ शवदाह भैरहेको छ ।
अराध्यदेव शिवले आफ्नी प्रिया सतीको अन्तिम संस्कार यहीं गरेको मान्यता छ । मणिकर्णिकाघाटमा अन्तिम संस्कार गर्दा सोझै मोक्ष मिल्ने भनाई रहेको छ । यहाँ चिताको खरानीले मसान होरी पनि खेलिन्छ ।
खेले मसाने में होरी दिगम्बर,
खेले मसाने में होरी ।
भुत पिशाच बटोरी दिगम्बर,
खेले मसाने में होरी ।