- विनोद दाहाल
प्रकृतिमा उत्पति हुने र नष्ट हुने जन्मिने र मर्ने अस्तित्वमा देखिने र रुपान्तरण हुने क्रम हुन्छ । हुँदै नभएको कुरामा छ भनेर जिद्धि गर्नु विज्ञान र खोज अनुसन्धानले आजसम्म नदेखाएको विषयमा चमत्कारिक कुरा जोडेर मानिसलाई भ्रम सृजना गर्नु र त्यसैलाई आधार मानेर ठगीधन्दा चलाउनु चाहिँ बेइमानी हो ।
मृत्युलाई विनाश; उपरति; महाप्रस्थान; पात; शरीररान्त; देहावसान; स्वर्गवास; पतन; प्राणान्त; परमधाम; वाङ; महाप्रयाण; मृत्यु; प्राणोत्सर्ग; परधाम; प्राणत्याग; विनिपात; यम; मरण; चिरनिन्द्रा; परलोक; संसार; महानिद्रा; प्रलय; प्रवसन; मोक्ष; हावा खुस्काइ; प्रेतता; खतम; मृति; स्वर्गगमन; आँखा चिम्लनु; अस्त; प्रयाण; निर्याण; देहान्त; खत्तम; विजल; स्वर्गलाभ; विश्रान्तिधाम; स्वर्गारोहण; निधन; कालधर्म; विपत्ति; अवसान; मरौट; अन्त्य; पर्यवसान; महायात्रा; यमपाश आदि नाम दिइन्छ ।
साङ्केतिक रुपमा अझै अरू शब्द वा वाक्यांशहरूले भन्ने गरिन्छ । प्रायः शब्दहरूले स्वर्ग छ, नरक छ, आउने जाने हुन्छ, आउन दिने र नदिने शक्ति हुन्छ, चमत्कारिक कुराहरू बलशाली हुन्छन् आदि तर्क दिएर मानिसलाई भ्रम दिनु कत्तिको इमानदारिता हो ? मानिसलाई जन्मेदेखि मृत्युसम्म भ्रम नै भ्रमको जालमा पार्ने बदनियतलाई किन साथ र सहयोग दिने ?
केही प्रश्न गरौं ! मानिस मर्नु स्वर्ग गएकै हो ? स्वर्ग कहाँ छ ? कसले देखेको छ ? सबै धर्म दर्शनमा स्वर्गको कल्पना सारतः एउटै देखिन्छ । संसारभरका समाजमा सामन्तको चरित्र एउटै भएकाले रैती वा प्रजालाई बिद्रोह गर्नबाट रोक्ने एउटै उपाय थियो । त्यो हो पुनर्जन्मको चिन्तन गर्ने बनाउनु र भयभीत बनाएर आफ्नो वशमा पारिराख्नु ।
थाहै नभएको विषयमा विश्वास गर्नु अन्धविश्वास हो । मानिस मर्दा शाषक र शोषक वर्गको काल्पनिक स्वर्ग वा नरक गएको विश्वास गर्ने कुनै आधार नै छैन । यो युगको मानिसका ज्ञान, विज्ञान र प्रविधियुक्त शोध–अनुसन्धानले नभेटेको कुरा शाषक र शोगकको तावेदारि गर्ने विद्वान, दार्शनिक, ऋषि, मुनि, राजा–महाराजा आदि कमजोर बैचारिक क्षमता भएकाहरूबाट भनाउदा पत्याउने आधार नभए पनि राज्यको डण्डाले होहोरेमा पत्याउने बनाएको निश्चित छ ।
स्वर्गीय भन्ने, लेख्ने, ठान्ने, मान्ने सबैसबै अन्धविश्वासी हैनन् र ? आफू अन्धविश्वासको बाटो लागें भनेर अरूलाई पनि त्यही बाटोमा डोहोर्याउनु कत्तिको इमानदारिता हो ? आधार बिनाको विश्वास गर्नु अन्धविश्वासी मात्र हैन बेइमानी पनि हुन्छ ।
सचेत मानिसले जीवन व्यवहारका हरेक विषयलाई सच्याउनुपर्छ । सचेत मानिस यो समयका कम्युनिस्ट मात्र हुन्छन् । त्यसमा पनि मालेमावादी नभै त्यो सम्भव हुँदैन । मानिसको मृत्युमा स्वर्गीय लेख्ने कोहि पनि कम्युनिस्ट हैनन् भन्न सकिन्छ ।
स्वर्ग त समाजका छट्टू र ठगहरूले आफूलाई सहि पुष्टि गर्न बनाएको काल्पनिक स्थान हो । यो उनीहरूको चिन्तन प्रबृत्ति मात्र हो । त्यस्मा बस्तुगत तथ्यबाट सत्यको नजिक पुग्ने सवाल नै हैन । यस्को आधार नै नदेखिने हुनाले छट्टू ठगहरूले भने भन्दैमा समाजका सबैभन्दा सचेत मानिस कम्युनिस्टले पनि त्यसै भन्न मिल्दैन ।
मानिसले मुलतः भौतिक आवश्यकता पूरा गर्नका लागि काम गरे । सभ्यताको विकास गरे तर छट्टूहरूले भ्रमको खेती गरेर शोषणकारि समाज बनाए । त्यही भ्रमको खेती अन्तर्गतको हो धर्म दर्शन जुन परिवार निजी सम्पत्ति र राज्यको उत्पति भैसकेपछि आएको हो ।
अहिले पनि समाजमा यो ऐंजेरु झैं रहेको छ । यो राज्यसत्तासँगै जोडिएकाले व्यक्तिले प्रयास गर्दैमा यो हट्दैन बरू यसले समाजलाई कमजोर मात्र पारेको छ । समाज बदल्नुपर्ने जुन सचेत मानिसको जिम्मेवारिमा पर्छ त्यसमा धर्मदर्शन अवरोध बनेको छ ।
धर्मदर्शनले पुरानै अत्याचारि समाज र शासनव्यवस्था खोज्ने गर्दछ । पिछडिएका चेतना बोक्नेहरूको दिमागमा त्यो अत्याचारि दर्शनले घर गरेर बसाइएको छ । त्यो एउटा भीडले धार्मिक सोच भएकाहरूले नेतृत्व लिएर समाजमा अराजकता र साम्प्रदायिकता निम्त्याउन खोजिरहेका छ ।
त्यो रद्दी चेतना र जिम्मेवारि भएका मानिसले सचेत र क्रान्तिकारिलाई नराम्रो देख्नुलाई हामीले स्वभाविक ढङ्गले बुझ्नेपर्दछ । कम्युनिस्ट र विद्वानका बिल्ला भिरेकाहरूले कम्त्तिमा पनि ती सिल्ली दिमाग बोकेकाहरूको प्रतिवाद गर्नुपर्छ भन्नका लागि कमेन्टहरू गर्नुपर्दछ ।