- भोजराज घिमिरे
बेलायतमा भएको औद्योगिक क्रान्ति र पुँजीवादी क्रान्तिले मान्छेको जीवन धेरै ठुलो परिवर्तन ल्यायो । देशको धेरैजसो सम्पत्ति कारखानाका मालिक र पुँजीपति वर्गको कब्जामा जम्मा हुदै गयो ।
सोझा मजदुरहरुलाई मेसिनको पार्टपुर्जालाई जस्तै ब्यवहार गरेर १८ देखि २० घण्टा काममा लगाउन थाले । बेलायतको सरकारले कृषिमा आधुनिकीकरण गर्न चक्लाबन्धी प्रणाली लागू गरेपछि हजारौं संख्यामा ग्रामीण कृषक मजदुरहरु आफ्नो जग्गा जमिन बिक्री गरी सहरका कल कारखानाहरुमा काम गर्न थालेका थिए ।
कारखानाका मालिकले मजदुर बस्ने घरमा स्वच्छ हावापानी, खाना लगायतको राम्रो व्यवस्था गरेका थिएनन् । महिला तथा बालबालिकाहरुलाई थोरै ज्यालामा १३ देखि १४ घण्टा काम गर्न लगाइन्थ्यो ।
पुँजीपतिहरुलाई कारखानाबाट केवल नाफा कमाउनु बाहेक मजदुरको दयनीय अवस्थाप्रति कुनै चासो थिएन । नयाँ मेसिनको आविष्कार हुदैजाँदा सयजना मजदुरले गर्ने काम एउटै मेसिनले गर्न थालेपछि मजदुर वर्गमा व्यापक बेरोजगारी समस्या देखिन थाल्यो ।
बेरोजगार मजदुरहरुको संख्या दिनानुदिन बढ्दै गयो । एउटा सानो काम खुल्यो भने हजारौं मजदुरहरु कामका लागि झुम्मिन थाले । यो देखेर पुँजीपतिहरुले ज्याला घटाएर काममा लगाउन थाले । औद्योगिक क्रान्ति र पुँजीवादी क्रान्तिले मान्छेको जीवन धेरै ठुलो परिवर्तन ल्यायो । देशमा भएको क्रान्तिको परिणामस्वरुप मध्यकालीन व्यापारी वर्ग पुँजीपति बने र कालीगढ एवं किसानहरु मजदुर बन्दै गए ।
मुक्त व्यापारको सिद्धान्त अनुरुप सरकारको काम केवल देशमा शान्ति कायम गर्नु र व्याक्तिगत सम्पत्तिको रक्षा गर्नुमा सीमित रहयो । कारखानाका मालिकहरुको शोषणलाई नियन्त्रण गर्ने कुनै निकाय थिएन । मजदुरहरुमा आफ्नो हक अधिकारका लागि एकताबद्ध भएर सङघर्ष गर्ने चेतना पनि थिएन । त्यसकारण मजदुरहरुले आफ्नो दयनीय अवस्थाको कारक यही मेसिन ठानी मेसिन तोड्फोडमा उत्रिए ।
कारखानाको मेसिन फोर्ने अभियोग लागेका १४ जना मजदुरलाई अमेरिकी अदालतले फाँसीको सजाय दियो । बाँकी १७ जनालाई आजिवन कारावासको सजाय सुनाएको थियो ।
मध्ययुगीन तीन वर्गमा विभाजित सामन्त, पादरी र सर्वसाधारण समाज (ब्यापारी, कालीगढ र किसान) औद्योगिक क्रान्ति पश्चात् नयाँ वर्गहरु पुँजीपति र मजदुर वर्गका रुपमा देखा परे ।
त्यसैबेला नयाँ मध्य वर्गको उदय भएको थियोे । पुँजीपति वर्ग प्रभावशाली थियोे तर शिक्षित मध्य वर्गलाई सरकारको समर्थन प्राप्त नभएकोले उनीहरू प्रभावहीन भएका थिए । कारखानाका मालिक र मजदुरहरुका बीचमा पारस्परिक विरोधको जन्म औद्योगिक क्रान्तिको परिणाम थियोे । समाजमा पुँजीपति र सर्वहारा वर्गमा विभाजित शोषक र शोषित वर्गको सङघर्ष यही क्रान्तिको देन हो ।
मेसिन र कारखानाको कारण दुबै वर्गको बीचमा अन्तर बढ्दै गयो । फलस्वरूप दुबै वर्गले अलग अलग आदर्श र कार्यक्रमहरु अपनाउन पुगे । मजदुर संगठनलाई सफल कार्यदिशातर्फ लैजान मध्यमवर्ग र उदारवादी पुँजीपतिहरुले सहयोग प्रदान गरे ।
स्कटल्याण्डका एकजना कारखानाका मालिक रोवर्ट ओवेनले पहिलोपटक काल्पनिक समाजवाद शब्दको प्रयोग गरे । यिनै व्यक्तिको प्रोस्तावबाट नयाँ विचारधाराको जन्म हुन गयो । सन् १८४८ मा बेलायतमा आन्दोलन चलिरहेको समयमा कार्ल माक्र्स र फेडरिक एङगेल्सले कम्युनिस्ट मेनिफेस्टो प्रकाशि गरेर पहिलोपटक विश्वका मजदुर एक हौ भन्ने नारा लगाएका थिए । यही नारामार्फत विश्वका मजदुरहरुलाई संगठित हुन पनि आव्हान गरे ।
बेलायतको लाइब्रेरीमा २० वर्ष गहिरो अध्ययन गरेका कार्ल माक्र्सले आदिम साम्यवाद, दास प्रथा, सामन्ती समाज र पुँजीवादी समाज गरि ४ युगमा विभाजित इतिहासको भौतिक व्याख्या विश्लेषण गरेका छन । कार्ल माक्र्सको भनाइ अनुसार जबसम्म पुँजीवादको अन्त्य र सर्वहारावर्गको प्रभुत्व कायम हुदैन तबसम्म वर्गसङघर्ष भइरहन्छ । पाँचसय वर्ष पुरानो पुँजीवादमा मानव जीवन झन झन कष्टकर बन्दै छ ।
सन् १८३१ मा फ्रान्सको लियोन सहरका मजदुरहरुले काम गरेर जिऔं वा लड्दा लड्दै मरौं लेखिएको झण्डा बोकी सहर कब्जा गरे । सन् १८४८ मा बेलायतमा ५० लाख मजदुरहरुले हस्ताक्षरसहितको मागपत्र संसदमा पेश गरे । संसदले मागपत्र स्वीकार गर्ने हो या राज्यशक्तिको कब्जा गर्ने कामदारवर्गलाई विद्रोह गराउने भन्ने प्रश्न त्यसमा उल्लेख थियोे ।
विश्वमा अशान्ति र युद्धको कारक पुँजीवाद एवम् साम्राज्यवाद हो । कार्ल माक्र्स र फेडरिक एङगेल्सले सर्वहाराबर्ग र मजदुरवर्ग हार्नका लागि बाँधिएको सिक्रीबाहेक केही नभएको तर जित्नको लागि सारा संसार भएको स्पस्ट पारेका थिए ।
पुँजीवादको उत्थान बिकास र पतनको नियम माक्र्सले प्रतिपादन गरेका हुन । सन् १८७१ मा मजदुरवर्गको पहिलो राज्य पेरिस कम्युन स्थापना भयो । तर ७२ दिनमै विघट्न भएपछि १९१७ को अक्टोबरमा रुसी समाजवादी क्रान्तिले सोभियत सङ्घको स्थापना गरेको थियो । मजदुरहरुले आफ्नो हक अधिकारका लागि अमेरिकामा आन्दोलन सुरु गरे। मे १ सन् १८८६ का दिन देशव्यापी हडतालको आव्हान भयो ।
अमेरिकाको सिकागो सहरमा मजदुरहरुको सङघर्षको केन्द थियोे । मे १ र २ को हडताल शान्तिपूर्ण थियोे । तर मे ३ को दिन सरकारले हडतालमा सहभागी निशस्त्र मजदुरहरुमाथि गोली चलायो । सरकारको गोलीबाट ५ जना मजदुर नेताहरू मारिए र ५० जना गम्भीर घाइते भए । त्यसैगरी मे ४ को गोलीकाण्डको विरोधमा मजदुरहरुले बिशाल प्रदर्शन र सभा आयोजना गरे । सरकारकै गुप्तचर प्रहरीले मजदुरहरुलाई उत्तेजित पार्न प्रहरीमाथि नै ढुङ्गा मुढा र बम हान्यो ।
यसरी सरकारले मजदुर आन्दोलन दबाउने जालसाजी रच्ने र मजदुर सभामाथि गोली चलाउने काम गर्याे । यसबाट पनि धेरै मजदुर मारिए र अनगिन्ती घाइते भए । न्यायलयले बम काण्डको झुटो आरोपमा मजदुर नेताहरूलाई फाँसी दिएको थियोे । फाँसी दिएको समाचारसँगै अमेरिकाका सारा मजदुरहरु सरकारको विरुद्धमा झन उग्र भएर अगाडि बढे ।
मजदुरहरुको रगत पसिनाबाट मोटाएका पुँजीपतिवर्ग मजदुर आन्दोलनको अगाडि घुँडा टेक्न बाध्य भयो । मजदुरहरुले उठाएको माग ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरञ्जन र ज्याला बढाउने माग पुरा भयो । सन् १८८९ मे १ मा फ्रान्सको राजधानी पेरिसमा विश्वका मजदुरहरुले अन्तर्राष्ट्रिय भेला भयो । उक्त भेलाले मजदुरहरूको विजय भएको दिन मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निधो गरेको थियो । सन् १८९० देखि मे १ लाई श्रमिक दिवसका रुपमा मनाउन थालिएको हो ।
मजदुर दिवसका अवसरमा मे १ का दिन विश्वभर विभिन्न कार्यक्रम गरी मनाइन्छ । तर, आधुनिक युगमा मजदुरमाथि हुने शोषणका घटना अन्त्य भएको छैन । सभा तथा गोष्ठिहरुमा समान श्रमको समाना पारिश्रमिका लागि ठुला ठुला वहस हुन्छन् कार्यान्वयनको पाटो कमजोर छ । वैदेशिक रोजगारीमा रहेका श्रमीकको स्वास्थ्य तथा मानवअधिकारका विषय अझ पेचिलो बन्दैगएको छ ।