काठमाडौँ — राष्ट्रिय किसान सञ्जालले कृषि क्षेत्रका विविध समस्या समाधान तथा किसानका हकहित संरक्षणका लागि तत्काल ११ बुँदे माग सम्बोधन गर्न सरकारसँग जोडदार माग गरेको छ। सञ्जालले २०८३ मंसिर १० गते प्रेस विज्ञप्ति जारी गर्दै मागहरू बेवास्ता गरिए देशव्यापी चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
सञ्जालका संयोजक डा. प्रेम दंगालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारी निर्णय, कार्यशैली र उदासीनताका कारण कृषि प्रणाली गम्भीर संकटतर्फ धकेलिएको र किसानको हक, अधिकार तथा पेशागत सुरक्षा कमजोर बन्दै गएको उल्लेख गरिएको छ।
राष्ट्रिय किसान सञ्जालका प्रमुख ११ मागहरू
- १. कृषि सामग्रीमा मूल्यवृद्धि नियन्त्रण र उत्पादन लागतमा राहत
- बीउ, मल, विषादी, कृषि औजार, उपकरण, इन्धन, विद्युत्, दाना, ढुवानी तथा मत्स्यका प्लस्टिकजन्य पदार्थको मूल्यवृद्धिले उत्पादन लागत अस्वाभाविक रूपमा बढेको छ।
- किसानले उचित मूल्य नपाउँदा बिचौलियाले लाभ उठाइरहेको र किसान तथा उपभोक्ता दुवै मारमा परेको भन्दै सामग्रीको मूल्य नियन्त्रण तथा समायोजन गरी राहत दिन माग गरिएको छ.
- २. कृषि उपजको न्यूनतम समर्थन मूल्य र खरिदको सुनिश्चितता
- सरकारले मोटा धानको समर्थन मूल्य रु. ३,६६० र मध्यम धानको रु. ३,८६० तोके पनि प्रभावकारी खरिद व्यवस्था नहुँदा किसान कम मूल्यमा बेच्न बाध्य छन्।
- समर्थन मूल्यमा धान खरिदको व्यवस्था मिलाउन, कम मूल्यमा बेच्न बाध्य किसानलाई राहत तथा क्षतिपूर्ति दिन र धानसँगै गहुँ, मकै, कोदो, तरकारी, फलफूल लगायतका उपजको उत्पादन लागतका आधारमा न्यूनतम समर्थन मूल्य तोकी खरिद सुनिश्चित गर्न माग गरिएको छ.
- ३. बाढीपीडित किसानको पुनःस्थापना, राहत र क्षतिपूर्ति
- २०८३ असोज १० गते भोटेकोशी र त्यसपछि बुढीगण्डकी नदीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा लगायतका जिल्लामा हजारौँ रोपनी खेतीयोग्य जमिन, बाली, अन्नपात, पशुपन्छी र घरटहरा नष्ट गरेको छ।
- मालपोत मिनाहा, निर्व्याजी कर्जा, मल, बीउ, सिँचाइ र बिजुली निःशुल्क उपलब्ध गराउन, उत्पादन अनुदानसहितको राहत प्याकेज घोषणा गर्न, क्षतिग्रस्त जग्गा पुनर्निर्माण गर्न र प्रभावित बालबालिकाको निरन्तर शिक्षाको वातावरण बनाउन माग गरिएको छ.
- ४. दूधको मूल्यवृद्धि र बक्यौता भुक्तानी
- दाना, चोकर र परालको मूल्यवृद्धिका कारण लागत बढेकाले दूधको मूल्य प्रतिलिटर रु. १५ वृद्धि गरी रु. ८० पुर्याउन माग गरिएको छ।
- दुग्ध विकास संस्थान तथा निजी डेरी उद्योगबाट किसानले पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम तत्काल भुक्तानी गर्न, ढिलाइ भएको अवधिको क्षतिपूर्ति दिन र दूध खरिद गरेको बढीमा एक हप्ताभित्र भुक्तानी पाउने कानुनी तथा संस्थागत व्यवस्था गर्न माग गरिएको छ.
- ५. रासायनिक मलको सहज उपलब्धता र दीर्घकालीन समाधान
- हिउँदे बाली लगाउने समयमा समेत रासायनिक मलको अभाव रहेको तथा अव्यवस्थित वितरणले उत्पादन र उत्पादकत्वमा असर परेको सञ्जालको भनाइ छ।
- नियमित आपूर्ति र सहज उपलब्धता सुनिश्चित गर्न, वितरण प्रणाली पारदर्शी बनाउन र देशभित्रै रासायनिक मल कारखाना स्थापना गर्ने ठोस नीति तथा कार्यक्रम ल्याउन माग गरिएको छ.
- ६. सुपारी खेती र उत्पादक किसानको संरक्षण तथा बजारीकरण
- झापा, मोरङ, सुनसरी, उदयपुर र इलाम लगायतका जिल्लामा विस्तार भइरहेको सुपारी खेतीको उचित मूल्य र बजार सुनिश्चित गर्न माग गरिएको छ।
- स्वदेशी सुपारीको डीएनए परीक्षणपछि मात्र निर्यात गर्न पाइने प्रावधान हटाई निर्यातको वातावरण मिलाउन माग गरिएको छ.
- ७. भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान
- वैकल्पिक वासको व्यवस्था नगरी बस्तीमा डोजर लगाएर घरटहरा भत्काउने र होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीलाई समेत खेदाउने कार्य भएको भन्दै आपत्ति जनाइएको छ।
- वैकल्पिक व्यवस्था नगरी कसैलाई विस्थापित नगर्न, विस्थापित परिवारको उचित पुनर्वास गराउन र भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या कानुनी तथा न्यायोजित प्रक्रियाबाट तत्काल समाधान गर्न माग गरिएको छ.
- ८. वन्यजन्तुबाट हुने कृषि क्षति नियन्त्रण र क्षतिपूर्ति
- बाँदर, जंगली हात्ती, बँदेल, भालु लगायतका वन्यजन्तुले बाली नष्ट गर्दा खेतीपाती छाडी आन्तरिक बसाइँसराइ गर्नुपर्ने अवस्था आएको उल्लेख छ।
- क्षति न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन, क्षतिको यथार्थ मूल्यांकनका आधारमा तत्काल पर्याप्त क्षतिपूर्ति दिन र वैकल्पिक बालीमा प्रोत्साहन गर्न माग गरिएको छ.
- ९. उखु उत्पादक किसानको समस्या समाधान र उचित मूल्य
- यस वर्ष पनि समयमै समर्थन मूल्य घोषणा नभएको भन्दै उत्पादन लागत र श्रमिकको ज्याला वृद्धिका आधारमा उखुको समर्थन मूल्य प्रति क्विन्टल रु. १,०२५ तोक्न माग गरिएको छ।
- उद्योगबाट पाउनुपर्ने सम्पूर्ण बक्यौता रकम तत्काल भुक्तानी गराउन तथा बजारीकरण र चिनी उद्योगसम्बन्धी समस्याको दीर्घकालीन समाधान गर्न माग गरिएको छ.
- १०. मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकार र जीविकोपार्जन
- राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको परम्परागत जीवनशैली, कृषि, पशुपालन, वन पैदावारको उपयोग र आर्थिक गतिविधिमा देखिएका समस्या समाधान गर्न माग गरिएको छ।
- संवैधानिक तथा कानुनी अधिकार संरक्षण गर्दै सुरक्षित र दिगो वैकल्पिक व्यवस्थासहितको नीति, कानुन र योजना बनाई कार्यान्वयन गर्न माग गरिएको छ.
- ११. सुनकोशी-मरिन डाइभर्सन आयोजनाको निर्माण कार्य अगाडि बढाउन
- आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेर रद्द गरिनुले मधेस प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका करिब डेढ लाख बिघा खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउने लक्ष्य प्रभावित हुने भन्दै चिन्ता व्यक्त गरिएको छ।
- ठेक्का रद्द हुनुको कारण र अन्योल तत्काल समाधान गरी पारदर्शी तथा प्रतिस्पर्धात्मक प्रक्रियाबाट निर्माण कार्य अघि बढाउन, निश्चित समयसीमासहितको कार्ययोजना सार्वजनिक गर्न र समयमै सिँचाइ सुविधा पुर्याउन माग गरिएको छ.
आन्दोलनको चेतावनी र सञ्जालमा आबद्ध संगठनहरू
सरकारले जायज मागलाई बेवास्ता, आलटाल वा आश्वासनमै सीमित राखे उत्पन्न परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने सञ्जालले जनाएको छ। माग पूरा नभए सञ्जालमा आबद्ध संघ-संगठनहरूलाई एकताबद्ध गरी देशभरका किसानलाई संगठित गरेर चरणबद्ध तथा सशक्त देशव्यापी आन्दोलन सञ्चालन गर्न बाध्य हुने चेतावनी दिइएको छ।
राष्ट्रिय किसान सञ्जालमा आबद्ध सदस्य संघ-संगठनहरू:
- अखिल नेपाल किसान महासंघ
- नेपाल किसान महासंघ
- नेपाल पिछडावर्ग किसान संघ
- जनता समाजवादी किसान महासंघ
- सामुदायिक वन उपभोक्ता महासंघ
- राष्ट्रिय कृषक समूह महासंघ
- राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघ
- राष्ट्रिय भूमि अधिकार मञ्च
- फियान नेपाल














