काठमाडौँ — स्वर्णिम होटल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा मंसिर ९ गते शेयरधनीहरु उल्लेख्य सहभागितामा काठमाडौंमा भब्यरुपमा सम्पन्न भएको छ । साधारणसभाले आर्थिक वर्ष २०८२/८३ मा देशभित्रको राजनीतिक अस्थिरता, भदौ महिनाको जेन–जी आन्दोलन र अन्तर्राष्ट्रिय भूराजनीतिक तनावका कारण पर्यटन तथा होटल क्षेत्र दबाबमा परेको देखिए पनि स्वर्णिम होटल लिमिटेडले वित्तीय अनुशासन र खर्च कटौतीको रणनीतिमार्फत उल्लेखनीय वित्तीय पुनरागमन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा खुद घाटामा रहेको कम्पनीले समीक्षा अवधिमा २ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको कम्पनीको तेस्रो वार्षिक प्रतिवेदनमा उल्लेख छ।
सञ्चालन आम्दानीमा सामान्य संकुचन आए पनि कर्जाको भार ५० प्रतिशतभन्दा बढीले घटाउनु, वित्तीय लागत नियन्त्रण गर्नु तथा सञ्चालन दक्षता अभिवृद्धि गर्नु नै नाफामा फर्कनुको मुख्य आधार बनेको प्रतिवेदनमा जनाइएको छ।
मुख्य वित्तीय तथा व्यावसायिक झलक
- नाफामा पुनरागमन: सञ्चालन आम्दानी अघिल्लो वर्षको २३.१८ करोड रुपैयाँबाट घटेर २०.९५ करोड रुपैयाँमा सीमित भए तापनि कम्पनीले खुद घाटाबाट उक्लिँदै २.४० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
- सञ्चालन नाफामा सुधार: सञ्चालन खर्च १७.४४ करोड रुपैयाँबाट घटेर १४.२७ करोड रुपैयाँ कायम हुँदा सञ्चालन मुनाफा ५.७६ करोड रुपैयाँबाट बढेर ६.६८ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९२ लाख रुपैयाँले बढी हो।
- कर्जा र वित्तीय खर्चमा तीव्र कटौती: बैंक तथा वित्तीय संस्थाको कर्जा आकार ५० प्रतिशतभन्दा बढीले घटाइएको छ। ब्याजदर परिवर्तन र वित्तीय लागत व्यवस्थापनका कारण वित्त खर्च ९.२९ करोड रुपैयाँबाट घटेर २.११ करोड रुपैयाँमा झरेको छ।
- अन्तर्राष्ट्रिय सम्मान: होलिडे इन एक्सप्रेस काठमाडौँले ‘ग्लोबल टुरिजम एक्सिलेन्स अवार्ड्स २०२६’ अन्तर्गत ‘बेस्ट ग्रुप लेजर होटल इन नेपाल’ (Best Group Leisure Hotel in Nepal) को प्रतिष्ठित सम्मान प्राप्त गरेको छ।
विस्तार, पूँजी र आगामी योजना
कम्पनीले ‘फेज–२’ अन्तर्गत निर्माण भइरहेको सहायक भवन (Ancillary Building) को सिभिल कार्य करिब ९५ प्रतिशत सम्पन्न गरिसकेको छ। उक्त भवनमा ३००–३०० जना क्षमताका दुई आधुनिक ब्याङ्क्वेट हल, जिम, स्पा तथा स्विमिङ पुलसहितका सुविधा सञ्चालनमा ल्याइनेछ, जसले कम्पनीको व्यावसायिक क्षमता र आम्दानीमा विविधीकरण ल्याउने अपेक्षा गरिएको छ। साथै, निर्माणाधीन नयाँ भवन र सञ्चालन कार्य सम्पन्न भएपछि होटललाई ‘होलिडे इन एक्सप्रेस’ बाट ‘होलिडे इन एक्सप्रेस एण्ड सुइट्स’ मा स्तरोन्नति गर्ने योजनासमेत लिइएको छ।
प्रतिवेदनअनुसार हाल कम्पनीको चुक्ता पूँजी १५ करोड २० लाख रुपैयाँ कायम रहेको छ, जुन जारी पूँजी १९ करोड रुपैयाँको ८० प्रतिशत हो। बाँकी २० प्रतिशत अर्थात् ३ करोड ८० लाख रुपैयाँ बराबरको शेयर सर्वसाधारणमा निष्कासन गर्ने प्रक्रियासँगै चुक्ता पूँजी जारी पूँजी बराबर पुग्ने जनाइएको छ।
संस्थापक शेयरधनीतर्फ नरेश लाल श्रेष्ठको स्वामित्व ३.०१ प्रतिशत, सगुना श्रेष्ठको १९.९५ प्रतिशत, महेश्वर श्रेष्ठ (सिन्या) को १३.८९ प्रतिशत, निलिमा श्रेष्ठको ५.३१ प्रतिशत, सन्देश श्रेष्ठको ७.७८ प्रतिशत, संगम श्रेष्ठको ४.८५ प्रतिशत, संगीता अमात्यको २.६७ प्रतिशत, राजु श्रेष्ठको १.०५ प्रतिशत, सपना सापकोटाको १.३२ प्रतिशत, नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको २०.५२ प्रतिशत र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ५.०६ प्रतिशत शेयर हिस्सा रहेको प्रतिवेदनमा उल्लेख छ।
सञ्चालक समितिले आगामी दिनमा कर्जाको भार अझै घटाउने, वित्तीय तथा सञ्चालन खर्च नियन्त्रण गर्ने, सेवाको गुणस्तर बढाउने र दीर्घकालीन व्यावसायिक स्थायित्व कायम राख्ने रणनीति अघि सारेको छ।














