मङ्सिर ३, काठमाडाैं । नेकपा एमालेको जारी राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्दसत्रको कार्यक्रम शुरु भएको छ । हिजो उद्दघाटन समारोह आयोजना गरिएको बबरमहलस्थित कार्की ब्यङ्गकेटको हलमा बिहान साढे ९ बजेदेखि बन्दसत्र संचालन गरिएको हो ।
बन्दसत्रको अध्यक्षता अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् । उपाध्यक्षहरू रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, विष्णुप्रसाद पौडेल र रघुजी पन्त, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट तथा सचिवहरू छविलाल विश्वकर्मा, पद्मा अर्याल र खगराज अधिकारीलगायतका नेताहरूको उपस्थिति रहेको छ ।
त्यस्तै, पूर्व सभामुख तथा स्थायी कमिटी सदस्य देवराज घिमिरे, पूर्व मन्त्री लालबाबु पण्डितलगायत देशभरबाट आएका केन्द्रीय कमिटीदेखि पालिका तहसम्मका पदाधिकारी तथा जनप्रतिनिधिहरू बन्दसत्रमा सहभागी छन् । आयोजकका अनुसार बन्दसत्रमा करिब २ हजारदेखि २ हजार २०० जनाको सहभागिता रहेको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ भन्ने नारासहित हिजोदेखि शुरु भएको भेला भोलिसम्म चल्नेछ ।














