काठमाडौँ, कार्तिक २९ । दक्षिण कोरियामा सञ्चालन हुने ११औँ विश्व पारा तेक्वान्दो प्रतियोगिता (जी-१४) मा सहभागी हुने नेपाली टोलीलाई आइतबार एक कार्यक्रमका बीच बिदाइ गरिएको छ ।
नेपाल तेक्वान्दो संघको सल्लाहकार परिषद्का अध्यक्ष श्री प्रकाश शमशेर राणाले संघको कार्यालय सातदोबाटोमा आयोजित कार्यक्रममा खेलाडीहरूसहितको टोलीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो ।
विश्व तेक्वान्दो महासंघ (World Taekwondo) को कार्यक्रम अनुसार दक्षिण कोरियाको मुजुमा नोभेम्बर २० देखि २२, २०२६ सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका तर्फबाट दुई खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । संघका महासचिव एवं टिम व्यवस्थापक हेमन्त डाँगीका अनुसार खेलाडी दिपेश महतले नोभेम्बर २० मा ५८ केजी मुनि (के-४१) तौल समूहमा र अमिर भ्लोनले नोभेम्बर २१ मा ६३ केजी मुनि (के-४४) तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । विश्व तेक्वान्दोद्वारा ‘जी-१४’ वरीयताको मान्यता प्राप्त यस प्रतियोगिताको विश्व तेक्वान्दोको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ ।
बिदाइका अवसरमा नेपाल तेक्वान्दो संघका अध्यक्ष श्री दीपराज गुरुङ र काठमाडौँ जिल्ला तेक्वान्दो संघका अध्यक्ष विक्रम खड्गीले टोलीलाई उत्कृष्ट प्रदर्शन र सुखद नतिजाका लागि शुभकामना व्यक्त गर्नुभयो ।
टोलीका प्रशिक्षक कविराज नेगी लामाले उक्त विश्व प्रतियोगिता सन् २०२८ मा संयुक्त राज्य अमेरिकामा आयोजना हुने पाराओलम्पिक गेम्सका लागि अनुभव बटुल्ने अवसर र तयारीका लागि निकै महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । बिदाइ कार्यक्रममा संघका केन्द्रीय तथा काठमाडौँ जिल्लाका पदाधिकारीहरूलगायत तेक्वान्दो प्रशिक्षकहरूको उपस्थिति रहेको थियो ।














