- खगेन्द्र फुयाल
के पत्रकारितामाथि प्रश्न वर्जित छ ?
अन्य पेसा तथा व्यवसायको रूपान्तरण र आचरणका विषयमा पत्रकारिताले बहस चलाउने गर्दछ।
तर, पत्रकार स्वयं एवं पत्रकारिता पेसाप्रति आमसर्वसाधारणले प्रश्न गर्न नपाउने ? पाउनुपर्छ ।
हो, हाम्राे पत्रकारिता क्षेत्रमा पनि थुप्रै कमजोरी छन् । तैपनि पत्रकारिता र यसका विषयवस्तुप्रति पत्रकार तथा सञ्चारमाध्यम उत्तरदायी हुनैपर्छ ।
पत्रकारितामा रूपान्तरण आवश्यक छैन ?
छापामाध्यमसँगै डिजिटल संसारमा पुगेको पत्रकारितामा सूचना तथा समाचार पस्कने नाममा पत्रकारिताको प्रक्रिया र सैद्धान्तिक मूल्यमान्यतालाई बेवास्ता गर्नु हुँदैन ।
पत्रकारितामा सम्पादन कलाको छुट्टै महत्त्व छ र यो प्रक्रिया कदापि मिच्न मिल्दैन। जहाँ सम्पादकको कला, पत्रकारिताको विश्वव्यापी मूल्यमान्यता र व्यावसायिक आचरण कायम रहन्छ। यसले सञ्चारमाध्यमको विश्वसनीयतालाई हरसम्भव उच्च राख्न मद्दत गर्दछ।
बेलाबेलामा पत्रकारिताको विश्वसनीयतामाथि किन बारम्बार प्रश्न उठिरहन्छ ? किन ? यस क्षत्रका हर काेहीलाइ यसका धेर थाेर कारणा थाहा छ ।
के पत्रकारितामा पेसागत अध्ययन, ज्ञान, सीप र क्षमता आवश्यक छैन ?
पत्रकारिता माध्यममार्फत स्वार्थपूर्तिका लागि आएका व्यक्तिलाई पाठक तथा श्रोताले बहिष्कार गर्नेछन् । खराब मनसायका साथ पत्रकारिता पेसालाई नै धमिल्याउन आएका कुपात्रहरूलाई पत्रकारिताको गरिमा र पवित्रताको शिक्षा अावश्यक छ ।
देशमा रहेका बेथिति, भ्रष्टाचार र पदीय दुरुपयोगमाथि प्रश्न गर्नु पत्रकारिताको व्यावसायिक धर्म हो। सरकारको आलोचना गरेकै कारण पत्रकार तथा सञ्चारमाध्यममाथि नियन्त्रण गर्न अग्रसर हुनु चाहि सरकारको कायरताकाे संकेत हो।
वास्तवमा सरकारलाई सही मार्गदर्शन गर्न जति प्रतिपक्षको भूमिका रहन्छ, त्योभन्दा माथि पत्रकारिता छ र हुनुपर्दछ । सक्षम पत्रकारिताले सधैँ रकारलाई सही दिशामा निर्देशित गर्दछ । क्षणिक सत्ताको मातभन्दा माथि उठेर सरकारले भोलिका दिनलाई समेत मध्यनजर गर्दै कानुन निर्माण गर्नुपर्छ।
विद्यमान संविधान, अन्तर्राष्ट्रिय सन्धि–सम्झौता, अन्तर्राष्ट्रिय कानुन, मूल्यमान्यता र अभ्यास नयाँ बन्ने ऐन तथा कानुन निर्माणका स्रोत हुन्।
हामीले अभ्यास गरिरहेको लोकतन्त्र र आजको उदार युगमा नियन्त्रणमुखी कानुनको औचित्य छैन। न्युटनको चालसम्बन्धी तेस्रो नियम छ , प्रत्येक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ।
पत्रकारिता अपराध हुन सक्दैन ।
देवानी तथा फौजदारी कसुरका लागि पर्याप्त कानुन छन्।
पत्रकारितामा फौजदारी प्रकृतिका कानुन आवश्यक छैन। गल्ती पहिचान गरी सच्याउन प्रतिबद्ध हुनुपर्छ।
पत्रकारिता पेसा पनि कमजोरीबाट मुक्त छैन। यसलाई व्यवस्थित, जिम्मेवारपूर्ण एवं मर्यादित बनाउन सरकारले दण्ड होइन, विद्यमान संस्थाहरूलाई बलियो बनाउनुपर्छ। पेसा तथा व्यवसायमा आबद्ध व्यक्ति तथा संस्थाको सवलिकरणमा सरकारले ध्यान दिनुपर्छ ।














