काठमाडौँ, २३ असोज । नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक कुमार मल्होत्राले नेपाली उत्पादनको ब्रान्डिङ, गुणस्तर र बजार विस्तारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्। उनले नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि प्रभावकारी ब्रान्डिङको अभावमा स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारमा अपेक्षित पहिचान बनाउन नसकेको उल्लेख गरे।
‘नेपाली ब्रान्ड परिसरचना, २०८३’ सम्बन्धी अनुसन्धानत्मक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष मल्होत्राले नेपालमा नेपाली वस्तुको ब्रान्डिङ कमजोर रहेको र कतिपय अवस्थामा नक्कली ब्रान्डसमेत बजारमा बिक्री भइरहेको बताए।
“नेपालमा धेरै सम्भावना भएका वस्तुहरू छन्। छुर्पी, बेसार र अलैँचीजस्ता उत्पादनको पनि प्रभावकारी ब्रान्डिङ गर्न सकिएको छैन,” उनले भने, “ब्रान्डिङका क्षेत्रमा कानुनी समस्या पनि छन्। उपयुक्त कानुन बनाएर कानुनलाई छिटोभन्दा छिटो प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक छ।”
उनले नेपाली ब्रान्ड केवल कुनै वस्तु वा सेवाको नाम मात्र नभई उत्पादन क्षमता, उद्यमशीलता, रोजगारी, लगानी, प्रविधि, गुणस्तर र नेपालको आर्थिक पहिचानसँग जोडिएको विषय भएको बताए।
नेपालमा उत्पादन बढाउने, आयात घटाउने र निर्यात विस्तार गर्ने विषयमा लामो समयदेखि बहस हुँदै आए पनि उत्पादन बढाउनु मात्र पर्याप्त नहुने उनको भनाइ थियो। उत्पादनसँगै ब्रान्डिङ, गुणस्तर, बजार विस्तार र उपभोक्ताको विश्वास निर्माणमा पनि उत्तिकै ध्यान दिनुपर्ने उनले बताए।
“नेपाली उत्पादन राम्रो हुँदाहुँदै पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली ब्रान्डको पहिचान अपेक्षाकृत कमजोर छ,” मल्होत्राले भने, “त्यसैले ‘मेड इन नेपाल’लाई विश्व बजारमा बलियो पहिचान बनाउन सरकार, निजी क्षेत्र र सञ्चार क्षेत्रबीच सहकार्य आवश्यक छ।”
उनले नेपाली ब्रान्डलाई नेपालको बजारमा मात्र सीमित नराखी क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनुपर्नेमा जोड दिए। त्यसका लागि सरकारले स्थिर नीति, सहज व्यावसायिक वातावरण, लगानीमैत्री कानुन, पूर्वाधार र प्रविधिको विकास गर्नुपर्ने उनले बताए।
निजी क्षेत्रले उत्पादनको गुणस्तर, नवप्रवर्तन र प्रतिस्पर्धात्मक क्षमता बढाउनुपर्ने तथा सञ्चार क्षेत्रले नेपाली उत्पादन र सफल उद्यमशीलताका सकारात्मक कथा स्वदेश तथा विदेशमा पुऱ्याउन महत्वपूर्ण भूमिका खेल्न सक्ने मल्होत्राको भनाइ थियो।
नेपाली उद्योग तथा व्यवसायको विकास, स्वदेशी उत्पादनको प्रवर्द्धन र नेपाली ब्रान्डको पहिचानलाई प्राथमिकतामा राखेर अध्ययन तथा प्रतिवेदन तयार गरेकोमा उनले कर्पोरेट नेपाललाई धन्यवाद तथा बधाई दिए। उनले प्रतिवेदनले नेपाली ब्रान्डको वर्तमान अवस्था, चुनौती र सम्भावना बुझ्न महत्वपूर्ण आधार प्रदान गर्ने बताए।
कार्यवाहक अध्यक्ष मल्होत्राले ‘नेपाली ब्रान्ड परिसरचना, २०८३’ सम्बन्धी प्रतिवेदन आगामी दिनमा नीति निर्माण तथा व्यावसायिक रणनीति तय गर्नसमेत उपयोगी हुने विश्वास व्यक्त गरे। उनले अध्ययन, अनुसन्धान र तथ्यमा आधारित बहसले निजी क्षेत्रलाई थप सशक्त बनाउन सहयोग पुग्ने बताए।
उनले नेपाली उत्पादनलाई स्वदेशी बजारमा मात्र नभई विश्व बजारमा समेत गर्वका साथ स्थापित गर्न सबै पक्ष मिलेर अघि बढ्नुपर्ने बताए। नेपाली ब्रान्डको विकाससँगै उत्पादन, रोजगारी, निर्यात र समग्र अर्थतन्त्रलाई थप बलियो बनाउन सकिने उनको भनाइ थियो।















