काठमाडौँ, असोज २१ — स्नो रिभर्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा आश्विन २१ गते काठमाडौंको लिसारा रिसेप्सन्स नक्सालमा शेयरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न भयो । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका स्थित १३.५ मेगावाट क्षमताको सुपर काबेली खोला–ए जलविद्युत आयोजना सञ्चालन गरिरहेको स्नो रिभर्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पाँचौं वार्षिक साधारण सभामा आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पेश गरेको छ।
सञ्चालक समितिका अध्यक्ष मोहन विक्रम कार्कीद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार कम्पनीले गत आर्थिक वर्षको नाफा तथा सञ्चित मुनाफाबाट चुक्ता पूँजी ९३ करोड ७५ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने ९ करोड ३७ लाख ५० हजार रुपैयाँ बराबरको ९,३७,५०० कित्ता बोनस शेयर र कर प्रयोजनका लागि ४९,२६,३१६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा आव २०८२/८३ मा उल्लेख्य वित्तीय सुधार दर्ता गरेको छ:
- शेयर पूँजी: ९३ करोड ७५ लाख रुपैयाँ (अघिल्लो वर्ष ७५ करोड)
- जगेडा कोष: १० करोड ६८ लाख ११,२६५ रुपैयाँ (अघिल्लो वर्ष ३.७९ करोड)
- दीर्घकालीन तथा मध्यम ऋण: १ अर्ब ८२करोड १८लाख,३७ हजार५१४ रुपैयाँ
- स्थिर सम्पत्ति: २ अर्ब ७७ करोड २९ लाख ४०हजार१८५ रुपैयाँ
- कुल चालु सम्पत्ति: २३ करोड ५८ लाख ५५ हजार ४८२ रुपैयाँ
कम्पनीको दीर्घकालीन ऋण एनएमबि बैंक लिमिटेड र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा रहेको छ, जसमध्ये २०८३ असार मसान्तसम्म १ अर्ब ९४ करोड ७ लाख ९८ हजार ५०१ रुपैयाँ साँवा रकम तिर्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आयोजनाले आव २०८२/८३ मा नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद बिक्री सम्झौता (PPA) अनुसारको कूल ऊर्जाको ८८.२० प्रतिशत विद्युत उत्पादन गर्न सफल भएको छ।
यद्यपि, अमरपुर सब-स्टेशन ओभरलोड हुनुका साथै प्रसारण असुविधाका कारण केही महिना पूर्ण क्षमतामा उत्पादन गर्न नसकिएको कम्पनीले जनाएको छ।
कम्पनीले आगामी दिनका लागि देहाय बमोजिमका रणनीतिहरू सार्वजनिक गरेको छ:
- शतप्रतिशत विद्युत उत्पादन: PPA मा उल्लिखित वार्षिक कुल ऊर्जाको १०० प्रतिशत उत्पादनका लागि स्रोत साधनको उचित व्यवस्थापन गर्ने।
- प्रसारण लाइन सहजीकरण: नेपाल विद्युत प्राधिकरण र अन्य IPP हरूसँग आवश्यक समन्वय गरी Line Congestion सहज बनाउने।
- सुरक्षा तथा आपतकालीन व्यवस्थापन: Flood Monitoring Systems सुदृढ बनाउने, Powerhouse, Tunnel तथा Transformer क्षेत्रको Safety Assessment गराई ‘Safety Action Plan’ कार्यान्वयन गर्ने।
- मेसिनरी मर्मत: प्रमुख मेसिनहरूको Reverse Engineering तथा नियमित सुपरिवेक्षण गरी आपतकालीन मर्मत सम्भारको व्यवस्था मिलाउने।
कम्पनीको नियमावली परिमार्जन गरी स्वतन्त्र सञ्चालकको कार्यकाल ४ वर्ष पुर्याइ प्रकाश श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा र उत्तम पौडेललाई बाँकी कार्यकालका लागि सञ्चालक समितिमा नियुक्त गरिएको छ। सञ्चालक समितिमा मोहन विक्रम कार्की (अध्यक्ष), उत्तम पौडेल, दिपा राना मगर र प्रकाश श्रेष्ठ रहेका छन्।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत आयोजना प्रभावित क्षेत्रमा बाटोघाटो, पुल, विद्यालय मर्मत, सिँचाइ कुलो सुधार तथा वृक्षारोपणका कार्यहरू निरन्तर गर्दै आएको जनाएको छ।















