असाेज ११, काठमाडाैं । गत बुधबारदेखि निरन्तर भइरहेको झरी आजदेखि रोकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल बागमती र गण्डकीसहित पश्चिम नेपालका
विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ। आजदेखि भने कोशी, मधेससहित बागमती प्रदेशमा पानी पर्ने क्रम रोकिने र भोलिदेखि देशका सबै भागमा मौसममा क्रमिक सुधार हुँदै जाने जनाइएको छ।
मौसमविद् तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आज दिउँसोदेखि पूर्वदेखि बागमतीसम्म मौसममा सुधार हुँदै जानेछ। भोलिदेखि पश्चिमी क्षेत्रबाट पनि वर्षा हट्दै मौसम घमाइलो हुँदै जाने उहाँले बताउनुभयो।
बङ्गालको खाडीमा उत्पन्न भएको मौसमी चक्रवातको प्रभावका कारण हाल उत्तर भारतसहित नेपालका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ। मनसुन सक्रिय रहँदा
परेको निरन्तर वर्षाले देशका विभिन्न स्थानमा जनजीवन प्रभावित हुनुका साथै राजमार्गसमेत अवरुद्ध भएका छन्।















