काठमाडौँ / यस बर्ष दशैँमा नयाँ नाेट साट्न बैंककाे लाइन बस्नु नपर्ने भएकाे छ । नजिकिँदै गरेको बडादशैँ तथा चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले गरेकाे नयाँ व्यवस्थाअनुसार अब नाेट साट्न बैंकमा लाइन बस्नु पर्ने बाध्यता हटेकाे हाे ।
केन्द्रीय बैंकले सर्वसाधरणालाई दशैँमा राहत पुग्ने गरी नयाँ व्यवस्था गर्न निर्देशन दिएकाे छ । जसअनुसार अब बैंक तथा वित्तीय संस्थाका एटीएम (ATM) मेसिनबाट १ सय रुपैयाँ दरका नोटसमेत झिक्न पाइने भएको छ।
चाडपर्वको समयमा साना दरका नोट सटही गर्न बैंकका शाखा तथा काउन्टरमा लाग्ने भीडभाडलाई नियन्त्रण गर्दै सर्वसाधारणलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले राष्ट्र बैंकले यस्तो व्यवस्था
गर्न लागेको हो।
नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले छाता संगठन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन र नेपाल वित्त कम्पनी संघलाई औपचारिक पत्र पठाउँदै आफ्ना मातहतका बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनमार्फत १ सय रुपैयाँ दरका नोटसमेत वितरण गर्ने आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ।
नेपाल राष्ट्र बैंककी सहायक प्रवक्ता सुधा शाहका अनुसार चाडपर्वका बेला साना दरका नोटको माग बढ्ने भएकाले एटीएमबाटै १ सय रुपैयाँका नोट उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिइएको हो।
हालसम्म अधिकांश बैंक तथा वित्तीय संस्थाका एटीएम मेसिनबाट ५ सय र १ हजार रुपैयाँ दरका नोट मात्रै निस्कने गरेका थिए।
त्यसका कारण खुद्रा तथा साना दरका नोट आवश्यक पर्दा सर्वसाधारण बैंकको काउन्टरमै पुग्नुपर्ने र घण्टौँसम्म लाइन बस्नुपर्ने बाध्यता थियो। राष्ट्र बैंकको नयाँ निर्देशन कार्यान्वयनमा आएपछि साना दरका नोटका लागि बैंकको काउन्टरमा लाग्ने भीड कम हुने अपेक्षा गरिएको छ।
सर्वसाधारणले अब आफूलाई आवश्यक रकम १ सय रुपैयाँका नोटमा समेत एटीएमबाटै निकाल्न सक्नेछन्।
विशेषगरी दशैँ तथा अन्य चाडपर्वका समयमा दक्षिणा, पूजाआजा तथा दैनिक कारोबारका लागि साना दरका नोटको माग उच्च हुने भएकाले यो व्यवस्थाले सर्वसाधारणलाई थप सहज हुने अपेक्षा गरिएको छ।














