माघ २३, काठमाडाैं । सिन्धुलीको सुनकोसीमा गाडी दुर्घटना हुँदा २१ जना घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहीबार साँझ ६ बजेतिर सुनकोसी गाउँपालिका ५ खहरेस्थित भित्री सडकमा म.प्र.०३-००१ च ८५०० सिङ्गलक्याप बोलेरो दुर्घटनामा परेको हो।
सुनकोसी ५ खहरेस्थित अमारेबाट कुलपुजाका यात्रु लिएर गाँउखर्कतर्फ जाँदै गरेको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बोलेरो सुनकोशी ५ बस्ने २५ वर्षीय मनोज नेपालीले चलाएका थिए। यात्रुले खचाखच भएको बोलेरो अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको इलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक वसन्त बहादुर भुजेलले जानकारी दिए।
दुर्घटनाको खबरपछि राति नै खुर्कोटबाट भुजेलको कमाण्डमा १० जना र प्रहरी चौकी रातामाटबाट प्रहरी सहायक निरीक्षक टेम प्रसाद तिमल्सिनाको कमाण्डमा ४ जनाको टोली पुगेर घाइतेको उद्धार गरेको थियो।
घाइतेमध्ये १५ जनाको आत्मीय अस्पताल खाल्टेमा उपचार भइरहेको छ। घाइतेमध्ये बढी चोट लागेका चार जनालाई धुलिखेल अस्पताल रिफर गरिएको छ। दुई घाइतेलाई अन्यत्र रिफर गरिएको प्रहरीले जनाएको छ।















