काठमाडौँ— प्रवासी नेपाली मञ्च (ONF) अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना हुने भएको छ। ‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस दुई दिने अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।
अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मञ्चका अध्यक्ष रमेश पाण्डे र सचिव चानक पोखरेलले कात्तिक १८ र १९ गते हुने कार्यक्रमको सम्पूर्ण तयारी भइसकेको बताए। सो अवसरमा नेकपा (एमाले) का नेता लेखराज भट्टले प्रवासमा क्रियाशील प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सफलताका साथ सम्पन्न हुने विश्वास व्यक्त गरे।
अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले) की वरिष्ठ नेता विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ भने कात्तिक १९ गते हुने समापन समारोहलाई पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। अधिवेशनमा भाग लिन विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षकहरू काठमाडौँ आइपुगिसकेका छन्।
यस अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्ने मञ्चले जनाएको छ। अधिवेशनमा प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार रक्षा, वंशजको नागरिकताको निरन्तरता, संवैधानिक तथा राजनीतिक अधिकार, गैरआवासीय नेपाली संघ (एनआरएनए) लगायतका संघ-संस्थाहरूसँगको सहकार्य र समृद्ध नेपाल निर्माणमा प्रवासी नेपालीको भूमिकाबारे गहन छलफल गरी महत्त्वपूर्ण निर्णयहरू लिइनेछ।
विश्वका ३९ देशमा राष्ट्रिय कमिटी, ५ वटा महादेशीय कमिटी र ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार गरिसकेको मञ्चले यसै अवसरमा ‘विश्वव्यापी भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता’समेत आयोजना गरेको छ। उक्त प्रतियोगितामा सर्वोत्कृष्ट हुने सर्जकलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।














