नेपाल राष्ट्र बैंकले आगामी आमनिर्वाचनलाई मध्यनजर गर्दै राजनीतिक दल तथा उम्मेदवारहरूका लागि छुट्टै बैंक खाता खोल्ने विशेष व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।
निर्वाचन आयोगको अनुरोधमा केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गर्न लगाएको हो।
निर्वाचन प्रक्रियालाई थप पारदर्शी बनाउन प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयको सिफारिसमा राजनीतिक दल, प्रत्यक्ष तथा समानुपातिकतर्फका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरूले समेत निर्वाचन अभियान समूह वा सोही प्रकृतिको नाममा छुट्टै बैंक खाता सञ्चालन गर्न पाउनेछन्।
यस व्यवस्थालाई सहज बनाउन राष्ट्र बैंकले आफ्नो विद्यमान नियममा समेत केही लचकता अपनाएको छ। एकीकृत निर्देशन, २०८२ मा एउटै व्यक्तिले एउटा बैंकमा एउटै प्रकृतिको एकभन्दा बढी खाता खोल्न नपाउने प्रावधान भए तापनि निर्वाचन प्रयोजनका लागि खोलिने यी खाताको हकमा भने उक्त नियम लागु हुने छैन।
आयोगले खाता बन्द गर्न निर्देशन नदिएसम्मका लागि यो छुट प्रदान गरिएको छ, जसले गर्दा उम्मेदवारहरूलाई आफ्नो व्यक्तिगत र चुनावी खर्च छुट्टाछुट्टै व्यवस्थापन गर्न सजिलो हुनेछ।














