महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्छन् : अष्टलक्ष्मी शाक्य
काठमाडौं । भाद्र १७ , नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाहरूले सिङ्गो देशको नेतृत्व गरी परिवर्तन गर्न सक्ने बताएकी छन् ।
मंगलबार शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधि सम्बन्धी पत्रकार सम्मेलनमा बोल्दै उनले अहिलेका जनप्रतिनिधि महिलाहरू सिङ्गो देशको परिवर्तन गर्न सक्षम रहेको बताएकी हुन् ।
उनले भनिन्, ‘दुःख र सङ्घर्ष गरेर एउटा महिला सक्षम र सफल भएर वा जनप्रतिनिधिका रूपमा काम गर्न कति गाह्रो छ भन्ने हामीले भोगेका छौँ । अस्तव्यस्त जीवन एकातिर, बच्चाहरू र परिवारको माया एकातिर राखेर निर्वाचित जनप्रतिनिधिको हैसियतले निस्वार्थ भावले खटिराख्दा आशावादी पनि हुन सकिन्छ । त्यसैले महिला नेतृत्वले नै सिङ्गो देशको परिवर्तन गर्न सक्छन् र नेतृत्व गर्न सक्छन् भन्ने भावना जागेको छ ।’
उनले शी लिड्स आइकनको दोस्रो संस्करणका ३१ प्रेरणादायी महिला जनप्रतिनिधिको लागि १३१ जनाले फाराम भरेकोमा गहिरो अध्ययन गरी धैर्यता राखेर अत्यन्तै समय निकालेर मूल्याङ्कन गरिएको पनि बताइन् ।
उनले यी ३१ प्रेरणादायी महिला जनप्रतिनिधिहरू निष्पक्ष न्याय दिनुका साथै शिक्षा, स्वास्थ्यको सवालमा पनि राम्रो योजना रहेको बताइन् ।