गीता बराल

सम्यक जूनको शीतलतामा
तिम्रो आकृति खोज्ने गर्छु
मायावी हातहरु न्यानो स्पर्शमा
बादलको स्केच हेर्ने गर्छु
मरुभूमिको तातो रापमा
खण्डहर बनेका मेरा सपना
दिनलाई पाखुरी नपुगेसम्म
व्याजको ऋण नतिरेसम्म
खै म कसरी साटूँ खुसी
सानीको अक्षर नकिनेसम्म
बाआमाको न्यानो काख
उनको मायालु साथ
मन नभएको कहाँ हो र
मनभरि अपनत्वको भाव
बैँसालु रहरहरु बालुवामा
नक्साङ्कन गर्दै
म खोजिरहेछु देश
निशब्द समुन्द्रको गहिरामा
जाँच्न खोज्ने गर्छु
दिन साट्ने पाखुरी
समय काट्ने चौतारी
रोग काट्ने ओखती
मन बाँध्ने रसी
शरद बिर्सिएकी मखमली
आउँछन् ती झलझली
लिङ्गे पिङका झड्का
मादलमा चुड्का
म खोजी रहेछु
पखेरामा सुनाखरी
मेरै पाखामा रोजगारी।