काठमाडौँ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौँमा सम्पन्न कम्पनीको २०औँ साधारणसभाले सञ्चालक समितिका अध्यक्ष सञ्जीव न्यौपानेको अध्यक्षतामा विभिन्न महत्त्वपूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गर्दै नयाँ सञ्चालक समितिको समेत चयन गरेको हो।
नवीकरणीय ऊर्जा विकासमा सक्रिय सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले ११ मेगावाट क्षमताको नुवाकोटजिल्लाको दुप्चेश्वर गाउँपालिकामा वहने माथिल्लो तादी खोला जलविद्युत् आयोजना सफल रूपमा निर्माण गरी व्यावसायिक उत्पादन गरिरहेको छ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा बहने तादी खोलामा निर्मित यस रन-अफ-रिभर प्रकृतिको आयोजनाले २०८२ साल साउन १२ गतेदेखि व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गरेको हो। आयोजनाबाट उत्पादित बिजुली ३३ के.भी. डबल सर्किट ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको समुन्द्रटार सबस्टेशन जोडी राष्ट्रिय ग्रिडमा पठाइँदै आएको छ।
यस आयोजनाबाट वार्षिक ६१.३१९ गिगावाट घण्टा विद्युत् उत्पादन हुने प्रक्षेपण गरिएको छ, जसमध्ये वर्षायाममा ५०.८९३ गिगावाट घण्टा र सुक्खायाममा १०.४२५ गिगावाट घण्टा ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ।
विसं २०६४ असार १ गते प्राइभेट लिमिटेडका रूपमा दर्ता भई सुरु भएको यो कम्पनीलाई व्यापक जनसहभागिता गराउने उद्देश्यले २०८० असार २१ गते पब्लिक लिमिटेडमा परिणत गरिएको थियो। हाल कम्पनीमा ६०६ जना संस्थापक सेयरधनीहरू रहेका छन्।
सूर्यकुण्ड हाइड्रोको मुख्य प्रवर्द्धक तथा लगानीकर्ता अपि पावर कम्पनी लिमिटेड रहेको छ, जसको यस कम्पनीमा ४७.७३ प्रतिशत सेयर स्वामित्व रहेको छ। विगत २२ वर्षदेखि नवीकरणीय ऊर्जा क्षेत्रमा काम गर्दै आएको अपि पावरले जलविद्युत्का साथै सौर्य ऊर्जाका आयोजनाहरू समेत सञ्चालन गर्दै आएको छ।
कम्पनीले सर्वसाधारणका लागि १३,३९,३५० कित्ता साधारण सेयर (IPO) निष्कासन गर्न २०८२ साल मंसिर २५ गते धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो। त्यसपछि २०८२ चैत १२ गते नेपाल स्टक एक्सचेन्ज (NEPSE) मा सूचीकृत भई ‘SKHEL’ संकेत (Ticker Symbol) बाट यसको सेयर दोस्रो बजारमा सार्वजनिक कारोबारका लागि उपलब्ध भइरहेको छ।
साधारणसभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष सञ्जीव न्यौपानेद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदनलाई गहन छलफलपछि सर्वसम्मतिले स्वीकृत गरेको छ।
यसका साथै, सोही आर्थिक वर्षको वासलात (Balance Sheet), नाफा–नोक्सान हिसाब (Profit & Loss Account) तथा नगद प्रवाह (Cash Flow Statement) लगायतका सम्पूर्ण वित्तीय विवरणहरू पनि सभाले पारित गरेको छ।
साधारणसभाको मुख्य कार्यसूचीमध्ये एक रहेको सञ्चालक समितिको निर्वाचन कार्यक्रमअन्तर्गत कुल ५ जना सञ्चालकहरूको चयन गरिएको छ। कम्पनीको नियमावली तथा व्यवस्था अनुसार संस्थापक, सर्वसाधारण तथा स्वतन्त्र गरी तीनवटा क्षेत्रबाट सञ्चालकहरू छानिएका छन्:
- संस्थापक सेयरधनी समूह (निर्विरोध निर्वाचित):
- सञ्जीव न्यौपाने
- सिर्जना खड्का
- द्वारिकाप्रसाद न्यौपाने
- सर्वसाधारण सेयरधनी समूह:
- सुशान्त तिमल्सिना
- स्वतन्त्र सञ्चालक:
- लोकराज जोशी
कम्पनीले संस्थागत संरचनालाई बलियो बनाउँदै जलविद्युत् उत्पादन तथा व्यापारमा थप प्रभावकारी कदम चाल्ने र सेयरधनीहरूको हित संरक्षणमा सधैँ प्रतिबद्ध रहने जनाएको छ। नवनिर्वाचित सञ्चालक समितिको नेतृत्वमा कम्पनीले आगामी दिनहरूमा आयोजनाको कार्यक्षमता विस्तार तथा वित्तीय उन्नतिमा सकारात्मक प्रगति हासिल गर्ने विश्वास व्यक्त गरिएको छ।















