काठमाडौँ, भदौ १९, कवि वासुदेव अधिकारी ‘पाँचथरे’को कविता संग्रह ‘समयको प्रतिविम्ब’ लोकापर्ण भएको छ। कल्पलता साहित्य परिवार टोखाले सोमबार आयोजना गरेको एक कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, कल्पलता साहित्य परिवारका अध्यक्ष नरबहादुर बिसी, प्रा.डा. हेमनाथ पौडेललगायतले उक्त कृति लोकार्पण गरेका हुन्।
प्रमुख अतिथि खनालले अधिकारीका कविताले वर्तमान समयको प्रतिविम्ब जस्ताको त्यस्तै उतारेको तथा परिवर्तन र समाजवाद स्थापनामा महत्त्वपूर्ण योगदान पुर्याउन सक्ने सन्देश बोकेको प्रतिक्रिया दिए।
अर्का अतिथि प्रा.डा. पौडेलले प्रकाशित कृतिको समीक्षा गर्दै यसमा वर्तमान समाजको गतिशील यथार्थ समेटिएको बताए। “समाज विकृत छ, समाजमा धेरै नराम्रा पक्षहरू छन्, ती नराम्रा पक्षहरूलाई कविले तीखो गरी प्रहार गर्नुभएको छ र समाजमा नयाँ चेतना ल्याउने प्रयत्न यसमा गरिएको छ,” उनले भने।
कृतिकार पाँचथरेले आफ्नो कृतिबारे संक्षिप्त प्रकाश पार्दै पहिलो कविता ‘इमान’ पढेर सुनाएका थिए। साहित्यकारहरू सोइना दाहाल, प्रेम राई परीक्षित र घनबहादुर थापाले पनि लोर्कापित कृतिबाट १/१ वटा कविता वाचन गरेका थिए। कार्यक्रममा कवि वेदनिधि निरालाले आफ्नै कविता वाचन गरेका थिए।
कल्पलता साहित्य परिवारका अध्यक्ष बिसीले कवि पाँचथरे र उनका कृतिले टोखा साहित्यमा प्रतिनिधिमूलक योगदान पुर्याउन सक्ने अपेक्षा राखेको बताए।
पाँचथरे प्रगतिवादी कवि हुन्। उनले कृतिमा संगृहीत कवितामार्फत समाजका विकृतिप्रति निर्मम प्रहार गर्दै समाजलाई असल बनाउने प्रयत्न गरेका छन्। संग्रहमा समेटिएका धेरै कविता अभिधात्मक भए पनि केहीमा बिम्ब र प्रतीकको यथेष्ट प्रयोग भएको छ। यसअघि ‘खबरदार’ र ‘आँसुको भेल’ कविता संग्रह प्रकाशित गरिसकेका पाँचथरेको यो तेस्रो कविता कृति हो।















