काठमाडौं — एन आई सी एशिया बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप आधुनिक, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ नेपालमै पहिलो पटक Apple Pay र Google Pay मार्फत भुक्तानी स्वीकार गर्ने सेवा सञ्चालनमा ल्याएको छ।
यस नयाँ सुविधासँगै बैंकको CyberSource Payment Gateway मा आवद्ध ई–कमर्स पेमेन्ट गेटवे मर्चेन्ट (व्यवसायिक) ग्राहकहरूले विश्वभरका Apple Pay तथा Google Pay प्रयोगकर्ताहरूबाट Visa र Mastercard मार्फत आफ्ना ई–कमर्स प्लेटफर्महरूमा भुक्तानी प्राप्त गर्न सक्नेछन्।
Apple Pay र Google Pay विश्वव्यापी रूपमा मान्यता प्राप्त मोबाइलमा आधारित भुक्तानी माध्यम हुन्। यस प्रविधिमा अन्तर्राष्ट्रिय ग्राहकहरूले भौतिक कार्डको साटो आफ्नो कार्ड विवरणलाई Apple र Google Android मोबाइलमा ‘Tokenize’ गरी सहज रूपमा भुक्तानी गर्न सक्छन्।
खासगरी होटल, टुर्स एण्ड ट्राभल्स, ह्यान्डीक्राफ्ट, एयरलाइन्स, ई–कमर्स तथा आईटी क्षेत्र जस्ता वैदेशिक ग्राहकहरूसँग कारोबार गर्ने व्यवसायीहरूले बैंकको CyberSource मा आवद्ध भई यो सुविधा उपयोग गर्न सक्नेछन्। यसले नेपाली व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय ग्राहकका लागि थप सहज, सुरक्षित र परिचित Payment Experience प्रदान गर्दै विदेशी मुद्रा आर्जन तथा अन्तरदेशीय व्यापार विस्तारमा सहयोग पुर्याउने बैंकको विश्वास छ।
बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत एवं प्रमुख सूचना अधिकारी जयन्द्र बहादुर रावलका अनुसार, नेपालमै पहिलो पटक सुरु भएको यस सेवाले डिजिटल भुक्तानीलाई थप सरल र सुरक्षित बनाउनुका साथै नेपालको पर्यटन प्रवर्द्धन र समग्र अर्थतन्त्रमा नयाँ आयाम थप्नेछ।















