काठमाडौँ । कालिञ्चोक दर्शन लिमिटेडको १२ औं वार्षिक साधारण सभा अशोज १६ गते भक्तपुर स्थित जर्मन होम्स होटलमा शेययरधनीहरुको बाक्लो उपस्थितिमा भब्य रुपमा सम्पन्न भएको छ । कालिञ्चोक दर्शन लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/०८३ को आम्दानीबाट ८.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, सो बोनस सेयरमा लाग्ने कर समेत कम्पनी आफैँले व्यहोर्ने जनाएको छ।
कम्पनीको १२ औँ वार्षिक साधारण सभामा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण शिवाकोटीद्वारा प्रस्तुत प्रतिवेदन अनुसार कम्पनीले पूँजी वृद्धि र दीर्घकालीन विकासका लागि १:१ अनुपातमा हकप्रद सेयर (Right Share) निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि आवश्यक प्रक्रिया नेपाल धितोपत्र बोर्ड (SEBON) मा अघि बढिसकेको छ। हकप्रदबाट प्राप्त रकम कम्पनीको ऋण भुक्तानी, नयाँ पूर्वाधार निर्माण तथा दीर्घकालीन विकासमा उपयोग गरिने प्रतिवेदनमा उल्लेख छ।

विगतका वर्षहरूमा पर्यटन तथा व्यावसायिक क्षेत्रमा आएको आर्थिक मन्दी, महँगी, विदेशी मुद्रा विनिमय दरमा उतारचढावका साथै देशमा भएका विभिन्न आन्दोलनका कारण व्यवसाय सञ्चालनमा चुनौती थपिएको कम्पनीले जनाएको छ। विशेष गरी २०८२ साल भदौ २३ र २४ गते भएको घटनाका क्रममा केबलकारमा भएको तोडफोडबाट कम्पनीले ठूलो क्षति व्यहोर्नु परेको जानकारी गराइएको छ।
व्यावसायिक विविधीकरण गर्ने उद्देश्यका साथ कम्पनीले भक्तपुरको सूर्यविनायक नगरपालिकामा खरिद गरेको जग्गामा आधुनिक होटल निर्माण गर्ने योजना बनाएको छ। हाल होटलको वास्तुकला डिजाइन र प्रारम्भिक वातावरणीय परीक्षण (IEE) को कार्य अन्तिम चरणमा पुगेको र नियामक निकायबाट स्वीकृति प्राप्त भएपछि निर्माण सुरु गरिने जनाइएको छ।
कालिञ्चोक क्षेत्रको पर्यटन प्रवर्द्धन तथा सेवा विस्तारका लागि कम्पनीले निम्नलिखित योजनाहरू अगाडि बढाएको छ:
- पूर्वाधार सुधार: मन्दिर परिसरमा नयाँ पुरातात्विक पाटी निर्माण, बाटोमा सिँढी तथा रेलिङ, सुरक्षाका लागि CCTV क्यामेरा तथा सोलार बत्ती जडान गरिएको छ।
- यातायात र बसपार्क: देउरालीदेखि कुरी बजारसम्मको बाटो मर्मत तथा स्तरोन्नति गरिएको छ भने बसपार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउने योजना छ।
- इभी चार्जिङ स्टेशन: विद्युतीय सवारी साधन प्रवर्द्धनका लागि EV चार्जिङ स्टेशन स्थापना गरिनेछ।
- खानेपानी र सुरक्षा: खानेपानी ट्याङ्की र पाइपलाइन मर्मत, छुट्टै टिकट काउन्टर तथा सुरक्षा पोष्ट निर्माण गरिनेछ।
वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै कम्पनीले प्राकृतिक तथा धार्मिक सम्पदाहरूको संरक्षणमा प्रतिबद्धता जनाएको छ। साथै, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रका नागरिकहरूको उद्धार तथा राहतका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ११,११,१११/- (एघार लाख एघार हजार एक सय एघार रुपैयाँ) आर्थिक सहयोग उपलब्ध गराएको छ।















