काठमाडौं, असोज १६ — मदन भण्डारी मेमोरियल कलेज (एमबीएमसी) ले नयाँ बानेश्वरस्थित कलेजको सभाहलमा राष्ट्रिय ह्याकाथन ‘एमबीएमसी आइडियाएक्स २०२६’ को चौथो संस्करणको उद्घाटन गरेको छ। ‘इनोभेसन फर इम्प्याक्ट’ भन्ने मूल नाराका साथ असोज १८ गतेसम्म सञ्चालन हुने यस प्रतियोगिताको उद्घाटन कलेज व्यवस्थापन समितिका अध्यक्ष एवम् पूर्वमन्त्री महेन्द्र बहादुर पाण्डेले गर्नुभएको हो।
उद्घाटन समारोहमा बोल्दै पूर्वमन्त्री पाण्डेले अध्ययनका साथसाथै समाजका वास्तविक समस्याहरूको समाधान खोज्न सूचना प्रविधिका विद्यार्थीहरूलाई एकै ठाउँमा ल्याउनु कलेजको सामाजिक उत्तरदायित्व रहेको बताउनुभयो।
देशभरबाट दर्ता भएका १६० टोलीमध्ये भदौ २१ देखि २८ गतेसम्म भएको अनलाइन मूल्यांकनमार्फत अन्तिम चरणका लागि २० टोली छनोट भएका हुन्। छनोटमा परेका २० टोलीमा देशभरका २८ शैक्षिक संस्थाका ६७ जना प्रतियोगीहरू सहभागी छन्।
कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीका अनुसार यस वर्षको ह्याकाथन पाँचवटा मुख्य विषयगत क्षेत्रमा केन्द्रित छ:
- जलवायु परिवर्तन, उत्थानशीलता र दिगोपना
- पर्यटन
- ई-गभर्नेन्स र स्मार्ट सार्वजनिक सेवा
- स्मार्ट सहरी यातायात र सडक सुरक्षा
- फिनटेक र डिजिटल वित्तीय नवप्रवर्तन
सुरुमा आदिवासी भाषा तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित भई सुरु भएको ‘आइडियाएक्स’ आज राष्ट्रिय मञ्चका रूपमा विकसित भएको क्याम्पस प्रमुख डा. अधिकारीले बताउनुभयो।
कार्यक्रम संयोजक तथा बीसीए संयोजक नवराज जोशीका अनुसार सहभागी टोलीहरूले ४८ घण्टाको समयावधिभित्र समस्या पहिचान गरी कार्यशील नमुना प्रारूप (प्रोटोटाइप) तयार गर्नेछन्। कलेजका बीएससी-सीएसआईटी विभागका संयोजक प्रज्ज्वल भण्डारीले ह्याकाथनका क्रममा १० जना मेन्टरले विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने र ५ जना अनुभवी निर्णायकहरूले अन्तिम परियोजनाको मूल्यांकन गर्ने जानकारी दिनुभयो।
असोज १८ गते बेलुका ४ बजे आयोजना हुने समापन समारोहमा विजेता टोलीहरूलाई पुरस्कृत गरिनेछ। प्रतियोगितामा सर्वोत्कृष्ट हुने टोलीले नगद रु. १,११,१११ (एक लाख ११ हजार १११) प्राप्त गर्नेछ भने पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने टोलीहरूलाई समेत पुरस्कृत गरिनेछ। यस कार्यक्रममा नेपाल टेलिकम, आईएमई ग्रुप, लिपफ्रग टेक्नोलोजी लगायतका विभिन्न संस्थाहरूको प्रायोजन रहेको छ।















